काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कुमारी बैंकले विद्युतीय टोल भुक्तानी प्रणाली (ई–ट्याग) बिक्री तथा वितरण सुरु गरेको छ।
बैंकले आफ्ना विभिन्न शाखामार्फत ई–ट्याग सेवा उपलब्ध गराएको जनाएको छ। यो प्रणाली जडान गरेपछि सवारीसाधनले टोल बुथमा नरोकिई स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन्।
सवारीसाधनमा ई–ट्यागको स्टिकर टाँसेपछि त्यसमा आबद्ध रकमबाटै टोल शुल्क कट्टा हुने व्यवस्था छ। यसले टोल बुथमा हुने भीडभाड र लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समय बचत गर्ने बैंकको विश्वास छ।
ई–ट्याग लिन चाहने ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बरसहित नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्।
त्यस्तै, बैंकको वेबसाइटमार्फत अनलाइन दर्ता गरेर पनि ई–ट्याग प्राप्त गर्ने प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ। डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सेवा विस्तार गरेको बैंकले सवारीधनीलाई ई–ट्याग प्रयोग गरी सहज, छिटो र नगदरहित यात्रा गर्न आग्रह गरेको छ।


























