काठमाडौं–वीरगञ्ज महानगरपालिकाले अनियमितताको आशंकामा ४ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । महानगरमा जनप्रतिनीधि निर्वाचित भएर आएपछि पहिलोपटक अनियमितता आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो ।


ADVERTISEMENT


नगर प्रमुख विजयकुमार सरावगीको आदेशमा कार्यकारी अधिकृतले राजस्व शाखाका प्रमुख अधिकृत मनोज कर्ण, राजश्व शाखाकै कर्मचारीहरु नवराज थापा, पवन प्रधान र गंगा पौडेललाई स्पष्टीकरण सोधिएको महानगरपालिका स्रोतले बतायो ।


ADVERTISEMENT

# # #


उनीहरुले राजश्व शाखाबाट प्राप्त हुने नियम अनुसारको राजश्व दाखिला नगरेकोले स्पष्टीकरण सोधिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाभित्र रहेका विभिन्न व्यापारिक प्रतिष्ठानबाट उठाउनुपर्ने घर जग्गा कर, बहाल कर, एकीकृत सम्पत्ति करलगायतको विषयमा आवश्यक कारवाही गर्नको लागि नगर प्रमुखले कारवाही पक्रिया अघि बढाएका हुन् ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आन्तरिक शुद्धीकरणका लागि केही कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको बताए । ‘घर नक्सा पास र राजश्वको विषयमा हामीलाई केही शंका लागेर कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको छ । चित्त बुझ्दो जवाफ नआएको खण्डमा आवश्यक कारबाही पनि गर्छौ’, उनले भने । महानगरापकिलाको आन्तरिक विषय भएकोले धेरै जानकारी दिन नमिल्ने उनको भनाइ थियो ।

तीन वडा सचिव माथि अनुसन्धान
वीरगञ्ज महानगरपालिकाले नगरबासीसँग राजश्व लिएर खल्तीमा राखेको आरोपमा तीन जना वडा सचिवमाथि पनि अनुसन्धान शुरु गरेको छ । नगरबासीसँग अशुल गरेको राजश्व लगायतका दस्तुर महानगरमा दाखिला नगरेको आरोपमा वडा नं ३२, १६ र १४ का वडा सचिवमाथि अनुसन्धान शुरु गरिएको हो ।

‘स्थानीय बासिन्दाले पैसा नलिई काम नगरेको गुनासो नगर प्रमुखसँग गरेका थिए , विभिन्न शुल्क नाममा १ सय, २ सय लिने तर रसिद नदिने गरेको गुनासो आएपछि उनीहरु माथि अनुसन्धान शुरु गरिएको हो’, महानगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले भने, ‘केही दिनमै उनीहरु दोषी या निर्दोष के हुन् थाहा हुन्छ ।’

अनुसन्धानकै क्रममा रहेकोले उनीहरुले नियमित काम कारबाही पनि गरिरहेको उनको भनाइ छ ।