काठमाडौं–माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको टुङगो आज वेलुकासम्ममा लगाउने भएको छ । माओवादीमा गृहमन्त्री बन्ने आकाँक्षी बढेपछि मन्त्री छान्न सकस परेको हो ।


ADVERTISEMENT


माओवादीको भागमा परेको गृहमन्त्रालयको नेतृत्व गर्न महासचिव रामबहादुर थापा बादल र नेता बर्षमान पुनले दावी नछोडेपछि नेतृत्वलाई यसवारे निर्णय गर्न समस्या भएको बताइएको छ । यद्यपि, नेताहरुले बाहिर आएजस्तो विवाद नभएको बताएका छन् । नेता नारायणकाजी श्रेष्ठले बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताए ।


ADVERTISEMENT

# # #


यसअघि गत बुधबार बसेको पार्टी हेडक्वाटर बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव रामबहादुर थापा र नेता नारायणकाजी श्रेष्ठलाई मन्त्री छनोटको जिम्मेवारी दिएको थियो । मन्त्री छान्ने जिम्मेवारी पाएका नेता नारायणकाजी श्रेष्ठले आइतबार बेलुकासम्म तीन नेता बसेर नाम टुङ्ग्याउने बताए । उनले भने ‘आज बेलुका वा भोलि बिहानसम्ममा टुंगिन्छ ।’

नेता श्रेष्ठले अध्यक्ष बाहिर भएकाले यसवारे छलफल हुन नसकेको भन्दै अध्यक्ष काठमाडौं फर्केपछि छलफल गरेर अघि बढ्ने पनि जानकारी दिए । एमाले–माओवादीको सहमति अनुसार माओवादीले गृह, जलस्रोत तथा ऊर्जा, कृषि सहकारी तथा भूमि व्यवस्थापन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास आवास खानेपानी तथा सरसफाई, वन तथा वातावरण र महिला तथा रोजगार मन्त्रालय पाउनेछ ।

त्यस्तै, एमालेले अर्थ तथा योजना, परराष्ट्र,रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा तथा खेलकूद, पर्यटन, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र संघीय मामिला तथा सामान्य प्रशासन सम्हाल्ने सहमति भएको छ । एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ ।

एमालेमा पनि मन्त्री बन्ने आकांक्षी धेरै भएपछि नाम सार्वजनिक गर्न सकेको छैन । दुवै दलभित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाई भएको छ । सोमबार मन्त्रिमण्डल विस्तार हुने प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् ।