काठमाडौं–नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ लाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ । फागुन १५ गतेदेखि सुरु हुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्नुपर्ने बताए ।


ADVERTISEMENT


अध्यक्ष रोकाले मगर जातिको आदिभूमिलाई तीन चिरा पारिएको बताउँदै एउटै क्लस्टरमा ल्याएर आठौँ प्रदेश बनाउनुपर्ने आफूहरुको पहिलो माग रहेको बताए । मगराँत क्लस्टरलाई मिलाएर एउटै प्रदेश बनाउन नसकिने हो भने प्रदेश नं. ४ लाई मगरात–तमुवान, प्रदेश नं. ५ लाई मगरात–थारुवान र प्रदेश नं. ६ लाई मगरात–खसान नामाकरण गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


‘हाम्रो पहिलो माग मगरात भूिमको क्लस्टरसहितको मगरात प्रदेश हो,’ उनले भने, ‘त्यसो हुन नसके तीनवटै प्रदेशलाई मगर समुदायको पहिचान आउने गरी नामाकरण गर्नुपर्छ ।’ मगर संघले मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर प्रथाजनित कानूनहरुलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने माग राखेको छ । ‘हाम्रा एजेण्डामाथि राष्ट्रिय सम्मेलनमा गम्भीर छलफल हुन्छ, र हामी हाम्रा माग पूरा गराउन आन्दोलन अगाडि बढाउछौँ’, मगमर संघका महासचिव ज्ञानेन्द्र पुनले भने ।

मगर संघले सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि संविधान संशोधनको मागसमेत गरेको छ । संघले ‘पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरेको छ ।

पत्रकार सम्मेलनमा संघले फागुन १५, १६ र १७ मा राष्ट्रिय सम्मेलन हुने, सम्मेलनको उद्घाटन फागुन १५ गते टुँडिखेलमा हुने र बन्दसत्र गोंगबुमा हुने जानकारी दियो । सम्मेलनमा ६९ जिल्ला शाखा, ६ भातृसंगठन, वैदेशिक शाखा लगायतबाट पाँचसय प्रतिनिधि सहभागी हुने जनाइएको छ । मगर संघको स्थापान २०३९ साल फाल्गुण १५ भएको थियो । सोही दिनलाई मगर समुदायले मगर दिवसको रुपमा मनाउँदै आएको छ ।