काठमाडौं–काठमाडौंमा कार्यरत केही प्रहरीका कारण शान्ति सुरक्षामा प्रतिकूल असर परेको र अपराधीको मनोबल बढेको निश्कर्ष निकाल्दै काठमाडौं प्रहरीले घुस्याहा प्रहरी र फरार अपराधी पक्राउ गर्न काठमाडौंमा गोप्य रूपमा २ सय जना युवालाई परिचालन गर्ने भएको छ ।


ADVERTISEMENT


करिब २ साताअघि काठमाडौं प्रहरीको जिम्मेवारी पाएका एसएसपी विश्वराज पोखरेलले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंमा कार्यरत केही प्रहरी कर्मचारीका कारण संगठनकै बेइज्जत भएको भन्दै पहिला त्यस्ता प्रहरीलाई कारवाही गर्ने आफ्नो योजना रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘पहिला प्रहरी नै चोखो हुनुपर्छ, प्रहरीले लोभ देखाउन थाले अपराधीको यसै मनोबल बढ्छ,अहिले भ्यालीमा त्यस्तै भएको छ’, पत्रकार सम्मेलनमा एसएसपी भने, ‘भ्रष्ट प्रहरी र अपराधीलाई कारवाही गर्न मैले केही योजना बनाएको छु, जुन योजना गोप्य रहेन छन्, र परिचालन हुने युवा समूह पनि गोप्य रहेनछ, उनीहरूसँग कुरा हुँदैछ, केही दिनमा २ सय युवाले सूचना दिनेछन् र हामीले त्यसलाई पुष्टि गर्नेछौं ।’

‘भ्यालीका प्रहरी भ्रष्ट भएको गुनासो जताततै आयो, र त्यो केही हदमा साँचो पनि हो, हामी पहिचान गर्दैछौं,त्यसको रिजल्ट केही दिनमा आउनेछ’, एसएसपी पोखरेलले भने, ‘कानून कार्यान्वयन गराउने निकायमा रहेका प्रहरीले नै आर्थिक लोभमा फस्दा अपराध बढ्ने नै भयो, अब म त्यस्तो हुन दिन्न, कतै प्रहरीले पैसा खायो र काम नगरेको देख्नुभयो मलाई खबर गर्नु त्यसपछिको जिम्मा मेरो हो ।’

नागरिक प्रहरीको सम्वन्ध सुधार गर्न जरुरी ठान्दै मैलै नागरिक सुनुवाई कार्यक्रम गर्न थालेको छु, तपाईको टोलछिमेकमा आउने प्रहरीले काम गरेनन् गलत व्यक्तिसँग हात मिलाए मलाई उजुरी गर्नु तिनीहरूलाई हतकडी लगाउने काम म गर्ने छु’, एसएसपी पोखरेलले भने ।

फरार ३७२ जना खोज्दै काठमाडौं प्रहरी
विभिन्न मुद्दामा फरार ३ सय ७२ जनालाई तत्काल खोजेर कानूनी दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

प्रहरीले मुद्दा दर्ता गरे पनि फरार रहेकाले नै विभिन्न अन्य अपराध गरेको भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी पोखरेलले फरार अपराधी खोज्न छुट्टै प्रहरी परिचालन गर्ने बताए ।

‘फरार अपराधीले नै विभिन्न घटना गराएको कुरा खुल्छ, हाम्रो खोजीमा रहेकाले कतिपय प्रहरीलाई नै आर्थिक प्रलोभनमा पारेर बस्दै आएको भन्ने सूचना छ’, पत्रकार सम्मेलनमा बोल्दै एसएसपी पोखरेलले भने, ‘त्यस्ता खालका अभियुक्तलाई संरक्षण गर्ने प्रहरीलाई पनि कारवाही हुनेछ।’