काठमाडौं–थारु युवा सभा केन्द्रिय समितिले वर्तमान सरकारमा थारु समूदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


मन्त्रिमण्डल विस्तारको पूर्व सन्ध्यामा आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


समितिका अध्यक्ष कानूनलाल चौधरी (थारु) ले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको भन्दै एमाले र माओवादी दुवै पार्टीले थारु समूदायबाट एक जनालाई पनि पूर्ण मन्त्री बनाउने नदेखिएको भन्दै थारु समूदायलाई समेट्नेगरि मन्त्रिमण्डल विस्तार गर्न सुझाव दिए ।

उनले भने,‘म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु, उहाँहरुले अब ढिलाई नगरी थारु समूदायको भावनालाई सम्मान गर्दै कम्तिमा एक जना फुल मन्त्री बनाउनुपर्छ, सरकारको नेतृत्व गरेका दुवै दल एमाले र माओवादी केन्द्रलाई हाम्रो विनम्र आग्रह छ ।’

देशमा थारु समूदाय करिब ७ प्रतिशत भएपनि सरकारमा सहभागी गराएर थारुहरुलाई देश हाँक्ने जिम्मा दिन नेतृत्वकर्ताले कञ्जुस्याँई गरेको दावी गरे ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् थारु अभियन्ता भगवती चौधरीले अब हुने मन्त्रिमण्डल विस्तारमा एमाले र माओवादी केन्द्रबाट कम्तिमा एक जना थारु सभासदलाई मन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन् ।

उनले भनिन्,‘सरकारमा थारु समुदायलाई पनि सहभागिता गराउनुपर्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भेटेकी थिएँ, उहाँले सकेसम्म समावेशीता अनुसार नै मन्त्रिमण्डल विस्तार गर्छु भनेर वचन दिनुभएको छ ।’

अर्का थारु अभियन्ता डा. सुरेन्द्र चौधरीले सरकारमा थारु समूदायको सहभागिता सम्मानजनक रुपमा हुनुपर्ने बताए । चौधरीले भने,‘संविधान बनाउन, गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थारु समूदायलाई वर्तमान वाम गठबन्धनको सरकारमा सम्मानजनक रुपमा सहभागी गराउनुपर्छ, यसको लागि म यही मञ्चबाट सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’