काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र नेपालको राष्ट्रिय हितका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् ।


ADVERTISEMENT

# #


नेपाल एयरलायन्सको विमानमार्फत नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीसहितको प्रतिनिधिमण्डल भारत पुगेको छ । सरकारी प्रतिनिधिमण्डलमा ३४ सदस्य सहभागी छन् भने निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन् ।


ADVERTISEMENT

#
#


भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहको औपचारिक कार्यक्रम सीमित रहे पनि साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट हुनेछ । तर भ्रमणको मुख्य आकर्षण भने आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्चस्तरीय वार्ता हो ।

मोदीसँगको भेटमा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने कार्यसूची छ । साथै, ऊर्जा र सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको संयुक्त उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।

प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि हैदरावाद हाउसमा मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । त्यसपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरी उनी आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहको यो भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विशेषगरी व्यापार घाटा न्यूनीकरण, ऊर्जा व्यापार, सीमापार पूर्वाधार, लगानी विस्तार र नेपालको आर्थिक विकासमा भारतीय सहयोगलाई कसरी परिणाममुखी बनाउने भन्ने विषय भ्रमणका महत्वपूर्ण चासो हुन् ।

नेपाल सरकारले भ्रमणलाई राष्ट्रहित केन्द्रित कूटनीतिक पहलका रूपमा व्याख्या गरेको छ । अब प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँगको संवादबाट नेपालको प्राथमिकता कति प्रभावकारी रूपमा प्रस्तुत गर्छन् र त्यसले व्यवहारमा कस्तो उपलब्धि दिन्छ भन्ने चासो बढेको छ ।