काठमाडौं – मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा उक्त शेयरको कुल मूल्य ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ रहेको छ ।

शेयर प्रत्याभूति सम्बन्धी सम्झौतामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै मुनलाईट हाइड्रोपावरको प्रस्तावित सार्वजनिक शेयर निष्कासन प्रक्रियामा ज्योति क्यापिटल प्रत्याभूतिकर्ताका रूपमा रहनेछ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारका लागि अनुमति प्राप्त गरी शेयर निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, शेयर प्रत्याभूति र शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ ।