काठमाडौं–नयाँ वर्षमा काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सरकारी बाचा फेरि झुठो सावित भएको छ । मेलम्ची काठमाडौंमा झर्ने भाका वैशाखबाट असारमा सरेको छ । फेरि एक पटक सरकारको कुरा पत्याउने हो भने ०७५ असार पहिलो सातासम्ममा मेलम्चीको पानी उपभोक्ताको धारामा खस्नेछ । नयाँ वर्षको भाका सार्नुका विविध कारण देखाएको छ, सरकारले ।


ADVERTISEMENT


सुरुङमार्ग निर्माण र फिनिसिङ तीव्र रुपमा हुन नसकेको तथा प्राविधिक तयारी नपुगेको विषयलाई सरकारले यसपटक नयाँ ‘डेडलाइन’ तोक्ने बहाना बनाएको छ । त्यसबारे मेलम्ची खानेपानी आयोजनाले ऋणदाता एसियाली विकास बैंक (एडीबी)लाई पनि जानकारी गराइसकेको छ । आयोजनाअन्तर्गत् एउटा सुरुङ खण्डको ब्रेकथ्रु हुनै बाँकी छ । अहिलेको लक्ष्यअनुसार अबको ४० दिनमा मेलम्चीको सिन्धु–अम्बाथान खण्डको ब्रेकथ्रु हुनेछ ।


ADVERTISEMENT

# # #


उक्त खण्डमा नरम चट्टान रहेकाले लक्ष्यअनुसार सुरुङ निर्माण हुन नसकेको आयोजनाको दाबी छ । ब्रेकथ्रु भइसकेका सुरुङ खण्डमा फिनिसिङको काम भइरहेको छ । ‘लाइनिङ’ भनिने उक्त कामअन्तर्गत् सुरुङभरि सिमेन्टेड ढलान गर्नुपर्छ । सिमेन्ट अभाव देखाउँदै दैनिक अढाइ सय मिटर फिनिसिङ गर्ने लक्ष्य पनि पूरा हुन सकेको छैन । फिनिसिङका लागि दैनिक दुई हजार बोरा सिमेन्ट आवश्यक पर्छ । सीमित कम्पनीको मात्रै सिमेन्ट प्रयोग गर्न सकिने भएकाले आपूर्तिमा समस्या आएको आयोजनाका एक उच्च अधिकारी बताउँछन् ।

यो अवस्थामा मेलम्चीका सबै काम सकेर जेठ दोस्रो सातासम्म काठमाडौंको सुन्दरीजलमा पानी खसालिसक्ने नयाँ कार्यतालिका बनाइएको छ । जेठ अन्तिम साताबाट पानीको वितरण थाल्ने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत् परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता लीलाप्रसाद ढकाल बताउँछन् ।

मेलम्चीको करिब २८ किलोमिटर सुरुङमध्ये अब सिन्धु–ग्यालथुङ खण्डको दुई सय २० मिटर खन्न बाँकी छ । हेडर्वक्समा पनि निर्माण चलिरहेको छ । अम्बाथानभन्दा केही माथि मेलम्चीको पानी थुनेर सुरुङमा हाल्ने योजना छ । पाँच मिटरभन्दा अग्लो बाँध बाँधेर मात्रै मेलम्चीलाई सुरुङमा हाल्न मिल्छ । बाँध निर्माणको काम तीव्र रुपमा भएको छैन ।

हेडर्वक्समै दुई वटा सुरुङ जोड्न ६० मिटर पाइपको अस्थायी संरचना निर्माण गर्न पनि बाँकी छ । हालसम्म भारतबाट पाइप आइपुगेकै छैन । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । पानी हालेको करिब ७२ घण्टामा सुरुङ भरिने अनुमान छ ।

यस्तै, सुन्दरीजलको पानी प्रशोधन केन्द्र भरिन ४८ घण्टा लाग्नेछ । त्यसपछि थप ४८ घण्टा थोक वितरण सञ्जालको सफाइमा लाग्ने छ । मेलम्चीबाट सुरुङमा पानी हालेको एक सातापछि उपभोक्ताको धारामा खसाउन सकिने ढकाल बताउँछन् । हाल काम भइरहेको सात सय ५० किलोमिटरमध्ये ६ सय ५० किमिभन्दा बढी पाइप बिछ्याइसकिएको छ । धुम्बाराहीदेखि कलंकीसम्मको चक्रपथ आसपास तीन सय किमि पाइप बिछ्याउन बाँकी छ ।

एडीबीले पाइपलाइन सञ्जालको सुदृढीकरण, ढल प्रणालीको आधुनिकीकरण तथा पानी ट्यांकी निर्माणका लागि ८४ अर्ब रुपैयाँ ऋण दिएको छ । विभिन्न स्थानमा सात करोड ४५ लाख लिटर पानी अटाउने ट्यांकीहरु पनि निर्माणाधीन छन् । आठ वटा ट्यांकीको निर्माण अन्तिम चरणमा छ । भक्तपुरको कटुञ्जेमा भने भर्खरै निर्माण शुरु भएको छ ।

सुन्दरीजलमा आठ करोड लिटरको पानी प्रशोधन केन्द्र बनाएर परीक्षण सकिएको छ । थप आठ करोड लिटरको प्रशोधन केन्द्रको परीक्षण पनि केही समयमै गरिने निर्देशनालयले जनाएको छ ।