चितवन–काठमाडौँको वाग्मतीजस्तो प्रदूषित बन्न नदिन यहाँका युवाले थालेको नारायणी नदी सरसफाइ अभियानमा स्थानीय र जनप्रतिनिधिले साथ दिएका छन् । अभियानमा आज बिहान भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, कार्यकारी अधिकृत प्रेमराज जोशी, महानगरपालिका–१ का अध्यक्ष जयराम श्रेष्ठलगायत स्थानीय युवा, समाजसेवी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।


ADVERTISEMENT


नारायणगढ बजार बन्द हुने हरेक सोमबार बिहान स्थानीय युवाले गत हप्ताबाट नारायणी नदी सरसफाइ अभियान थालेका थिए । हातमा पञ्जा लगाएर प्रमुख दाहाल, उपप्रमुख शाहलगायत उपस्थित सबै कुचोसहित सरसफाइमा जुटेका थिए ।


ADVERTISEMENT

# # #


सरसफाइ कार्यक्रमपछि प्रमुख दाहालले नारायणी नदी किनारलाई सुन्दरस्थलका रुपमा विकास गर्ने महानगरपालिकाको योजना रहेको भन्दै आफूले कल्पना गरेको भन्दा बढी प्रदूषण नदी किनारमा पाएको बताइन् । उपप्रमुख शाहले दीर्घकालीन योजनाका साथ नदी र आसपासका क्षेत्रको प्रदूषण हटाएर सुन्दर र हराभरा नारायणी बनाइने बताइन् ।

नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म आठ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको बताए। चार ठाउँमा छुट्टै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई आठ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको उनले बताए ।

गौरीश्वर मन्दिरको पछाडि र केही पश्चिम नारायणी प्राथमिक विद्यालयको पछाडि नदीमा देवघाट र त्योभन्दा माथिबाट बगाएर ल्याएका मानिसको अन्त्येटी गर्दा प्रयोग भएका कोइला, फालिएका कपडा, मरेका जीवजन्तुलगायतका फोहरले थप समस्या देखिएको उनले बताए ।

स्थानीय पुराना पत्रकार ईश्वर जोशीका अनुसार नदीमा पहिले पहिले घडियाल गोही, माछाजस्ता जलचर र चराचुरुङ्गी देखिने भए पनि प्रदूषण बढेपछि अहिले देखिन छाडेका छन् । अघिल्लो सोमबारदेखि शुरु भएको यो अभियान हरेक सोमबार बिहान गरिने उनले जानकारी दिए ।