काठमाडौं–गत ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । एमाले र माओवादी केन्द्रबाट मन्त्री बनाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।


ADVERTISEMENT


यसक्रममा संघीय समाजवादी फोरमलार्इ पनि सहभागी गराउने प्रयास भएको छ । प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको छ ।


ADVERTISEMENT

# # #


छलफलमा प्रधानमन्त्री र माओवादी अध्यक्षले संविधान संशोधनको प्रतिबद्धता जनाएको बुझिएको छ । त्यसपछि यादव पार्टीमा छलफल गर्न भन्दै गएका छन् । उनलार्इ परराष्ट्र मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेको बालुवाटारस्रोतले जानकारी दियो ।

यादवले सरकारमा सहभागी हुन नमाने पनि आजै एमाले र माओवादीबाट मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् । माओवादीबाट मन्त्री हुनेहरूको नाम प्रचण्डले प्रधानमन्त्रीलार्इ उपलब्ध गराइसकेको बताइएको छ । माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का भएको छ।

बादल गृहमन्त्रालयको जिम्मेवारीसहित सरकारमा जानेछन् । यस्तै विना मगर पनि मन्त्री बन्ने स्रोतको दावी छ । स्रोतका अनुसार जनार्दन शर्मा, वर्षमान पुन, मातृका यादव र गिरिराजमणि पोखरेल पनि मन्त्री बन्ने छन् ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको छ।