काठमाडौं–जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित सडक छेउमा सोमबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । पथलैयादेखि पूर्वतर्फ रहेको तीन नम्बर पुलनजिक सडक छेउमा शिशु फेला परेको हो । ब्यस्त राजमार्गको छेउमै शिशु फेला परेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए ।


ADVERTISEMENT


अस्थायी चौकी पथलैयाको टोलीले शिशुलाई उद्दार गर्दै सिमरास्थित अल्पाइन अस्पताल ल्याएको थियो । शरीरमा रगत लागेको अवस्थामै रहेको शिशुको अहिले अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले राजमार्गको छेउमा शिशु फेला परेकाले सवारी साधनमा आएका ब्यक्तिले नै शिशुलाई छाडेको हुनसक्ने बताए । प्रहरी निरीक्षक भट्टले त्यस विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यता नवजात शिशु भेटिएसंगै अस्पताल क्षेत्रमा शिशुको पालनपोषणको जिम्मा लिन स्थानीयको भीड लागेको छ । बिहानैदेखि स्थानीयले अस्पताल पुगेर प्रहरीसंग शिशुको पालनपोषणको इच्छा देखाइरहेका छन् । प्रहरीले भने नवजात शिशु यत्तिकै जिम्मा लगाउन नमिल्ने बताएको छ ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेलले शिशुको जिम्मा लगाउनेछ । १८ बर्षसम्म सन्तान नपाएका पती पत्नी, पालनपोषणका लागि आर्थिकरुपले सक्षमलगायत मापदण्ड पूरा गरेका व्यक्तिलाई शिशु जिम्मा लगाउन सक्ने प्रहरीको भनाइ छ ।