दामसकस – अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो। इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कड क्षेत्र मानिने उफ्राटेस नदीको किनारमा आईतबार हवाई आक्रमण भएको थियो।


ADVERTISEMENT

# # #


बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकारी संस्थाले मारिएका मध्ये आधाभन्दा बढी बालबालिका रहेको जनाएको छ। सिरियाली राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले २९ जनाको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको समाचार प्रवाह गरेको छ।

देर अजोरमा गत हप्ता पनि अमेरिका नेतृत्वको हवाई सेनाको आक्रमणमा परी १५ नागरिकको मृत्यु भएको सानाले जनाएको थियो। कुर्द नेतृत्वको प्रजातान्त्रिक शक्ति (एसडीएफ)लाई अमेरिका नेतृत्वको गठबन्धनको समर्थन रहँदैआएको छ ।