काठमाडौं–अर्थमन्त्री युवराज खतिवडाले आफ्ना मान्यता अनुसार अर्थ मन्त्रालय हाँक्ने बताएका छन् । खतिवडाले निरन्तर राज्यको सुपरिवेक्षणमा खुल्ला बजारको वकालत गर्दै आएका छन् । सपथ लगत्तै अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले आफ्ना मान्यताहरु कार्यान्वयन गर्ने बताएका हुन् ।


ADVERTISEMENT


‘पदमा रहँदा र नरहँदा पनि मेरा केही मान्यताहरु छन्। ती मान्यताहरु हामीले अपनाउँदै आएका निति भन्दा धेरै टाढा छैनन्’, खतिवडाले कर्मचारीहरुलाई निर्देशन दिदैँ भने, ‘राज्यको भूमीका नेतृत्वदायी र अविभावकीय हुन्छ । नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छ । त्यो लिने क्रममा निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । परिपुरक सहयात्रा हुन्छ ।’


ADVERTISEMENT

# # #


उनले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैँ काम गर्न र काम गर्ने वातावरण तयार गर्न समेत सुझाए । अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा स्वागत गर्दै अर्थ सचिव शंकरप्रसाद अधिकारीले देशको आर्थिक अवस्था समस्याग्रस्त रहेको बताएका थिए ।

‘देशको अर्थतन्त्र मिश्रित छ। आर्थिक अवस्था समस्याग्रस्त छ’, अधिकारीले भने, ‘अर्थतन्त्र बुझेका विद्वान अर्थमन्त्री नियुक्त हुनु भएको छ । उहाँ अर्थतन्त्रको अवस्था र सूचनामा अपडेट हुनुहुन्छ । यो भन्दा बढी आमाको अगाडी मामाको बखान गरे जस्तो हुन जान्छ ।’

अधिकारीको सम्बोधन लगत्तै अर्थमन्त्री खतिवडाले मन्त्रालयमा आफू पाँच अजेण्डा लिएर प्रवेश गरेको उल्लेख गरे –

पहिलोः निरन्तरतामा परिमार्जन गरेर अगाडी बढ्ने

खतिवडा नयाँ संविधान बनिसकेको अवस्थामा नेपालको आर्थिक नीतिबारे थप बहस आवश्यक नरहेको बताए। उनले नयाँ संविधानले अगाडि सारेका मौलिक हक र राज्यको निर्देशक सिद्धान्त कार्यान्वयन गर्ने उल्लेख गरे।

‘राज्यको निर्देशक सिद्धान्तमा जे भनिएको छ त्यसलाइ कार्यान्वयन गर्ने तर्फ लाग्नुपर्छ।’

दोश्रोः बाम गठबन्धनको प्रतिबद्धता कार्यान्वयन

खतिवडाले आफ्नो कार्यालयमा बाम गठबन्धनका अगाडी सारेको चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अन्तराष्ट्रिय समुदायसँग मुलुकका विषयमा गरिएको प्रतिबद्धता कार्यान्वयनको तहमा पुर्‍याउने दावी गरे ।

नेपालले केहि समय अघि मात्र मुलुकलाई अति कम विकसितबाट विकाशउन्मुख राष्ट्रको हैसियतमा नपुर्‍याउन राष्ट्रसंघलाई आवेदन गरेको छ । तर खतिवडाले मुलुकलाई प्रतिबद्धता अनुसार कार्यान्वयनको तहमा जाने बताएका छन् । उनले निजी क्षेत्रका लागि राज्यको भूमीका परिपुरक हुने बताए ।

‘राज्यको भूमीका नेतृत्वदायी र अविभावकीय नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छ । त्यो लिने क्रममा निजी क्षेत्र सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । परिपुरक सहयात्रा हुन्छ । राज्यको भूमीका परिपुरकको हुनेछ ।

तेश्रोः अर्थतन्त्रका समस्या समाधान

खतिवडाले नेपालको अर्थतन्त्रको व्यवस्थापनका क्रममा वित्तिय अनुशासन राख्न पहल गर्ने बताए ।

‘म आफैँ वित्तिय अनुशासन कायम राख्नु पर्दछ भन्ने मान्यता राख्ने मान्छे भएकाले यो आर्थिक क्षेत्रका अनियमितता अन्त्य गर्नै पर्छ’, खतिवडाले भने, पहिलो त के प्रण गर्छौँ भने सरकारी वित्त प्रणालीमा पारदर्शिता अपनाउँछौँ, अनुशासन अपनाउँछौँ ।’

उनले अर्थतन्त्रको समस्या समाधानका लागि वित्तिय प्रणालीमा सुधार गरेर स्थायित्व ल्याउने बताए ।

नियार्तले र आयातले धान्न नसक्ने अवस्था रहेसम्म नेपालमा भुक्तानी असन्तुलन रहने उनले उल्लेख गरे । ‘भुक्तानी असन्तुलन बाह्य कारणले रहि रहने समस्या हैन’, खतिवडाले भने, ‘आर्थिक व्यवस्थापन ठिक ढंगले गर्न नसकेका कारण भएको समस्या हो । जति पनि संरचनात्मक समस्या सुधार गरेर वित्तिय स्थायीत्व ल्याउँछौँ ।’

चौथोः उच्च आर्थिक वृद्धि
खतिवडाले उच्च आर्थिक वृद्धि लक्ष्य भएको र त्यसका लागि निजी क्षेत्रको इन्जिन तगडा हुनुपर्ने बताए। ‘परिकल्पना गरेका विकास आयोजन र पूर्वाधारहरु र जुन प्रकारको समाज निर्माण गर्न खोजेका छौँ’, खतिवडाले भने, ‘निजी क्षेत्र हामीसँग सहकार्य गरेर जानुपर्छ। लगानी बढाउनका लागि लगानी बोर्डलाई क्रियाशिल तुल्याउँदै अगाडि बढाउने। निर्णय प्रक्रिया छिटो छरितो तुल्याउनु पर्ने छ।’

पाँचौः अन्तराष्ट्रिय सहयोग राष्ट्रिय चासोका क्षेत्रमा

खतिवडाले आफ्नो सरकारले अन्तराष्ट्रिय सहयोग भित्र्याउन भूमीका खेल्ने बताए। ‘व्यापार, लगानी र प्रविधी हस्तान्तरण गर्ने सम्बन्धमा हामीले अन्तराष्ट्रिय सहयोग राष्ट्रको अनुकुल परिचालन गर्नुपर्नेछ’, खतिवडाले भने, ‘अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा परिचालन गर्नुपर्छ। क्षमता विकास गर्ने गरि सदुपयोग गर्छौँ। बढी भन्दा बढी अन्तराष्ट्रिय सदुपयोग पाउने गरि अगाडि बढाउनेछौँ।’

देशको वर्तमान अवस्था र भविष्यमा चाल्नुपर्ने कदमका बारेमा बोलेका सचिवहरुले पटपटक विद्धान अर्थमन्त्री भन्दै खतिवडाले यो संकटको समाधान गर्नसक्ने आशा व्यक्त गरेका थिए ।

चालु वर्षको अहिलेसम्म मुद्रा स्फ्रीति बाहेक अरु सबै सुचकांकहरु त्यति धेरै सकारात्मक नभएको राजश्व सचिव शिशिर कुमार ढुंगानाले अवगत गराए । विप्रेशन आउनेक्रम घटेको, आयात बढेकोले चालु र शोधानन्तर खाता चिन्ताजनक अवस्थामा पुगेको उनको भनाइ छ ।

चालु वर्षको छ महिनामा चालु खाता ७५ अर्ब ७१ करोड र शोधानन्तर ६ अर्ब ६६ करोड रुपैयाँले घाटामा छ ।बजेटको व्यवस्थापन निकै चुनौतिपुर्ण मोडमा पुगेको र बजेटरी अराजकता हाबी हुँदै जाँदा भविष्यमा संकट टार्न गाह्रो पर्ने सचिव ढुंगानाको भनाइ छ ।

‘लक्षित बजेट खर्च हुन सकिरहेको छैन अर्कोतिर अहिले पनि बजेट बाहिर गएर चार–पाँच खर्बको माग भएको छ’ उनले मन्त्रीलाई अवगत गराउँदै भने,‘हामीले १४५ अर्ब को वार्षिक आन्तरिक ऋणको सिमामा अहिले नै ११४ अर्ब उठाइसकेका छौं ।’

गैरकरतर्फको राजश्वले जेनतेन लक्ष्य पुगेपनि करतर्फ उल्लेख्य नबढ्दा स्रोत संकुचित हुँदै गएको र अर्कोतिर खर्चको पारो बढ्दा चुनौति थपिएको उनको भनाइ थियो । अर्थसचिव शंकरप्रसाद अधिकारीले चुनौतिहरु तमाम् भएपनि समाधानको सिमा बाहिर नपुगेको प्रष्ट पारे।

‘समस्याहरु छन् राजश्व चुहावटदेखि वजेटरी अराजकतासम्म हाम्रा समस्या जस्ताका तस्तै छन् यसबारेमा अर्थमन्त्री आफै जानकार पनि हुनुहुन्छ’ उनले भने,‘योजना र अनुशासनमा बाँधिने प्रणालीको विकास नै मुख्य सरोकार हो।’ अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र त्यति सहज र नियन्त्रण बाहिर पनि नगएको बताए। र संकटकै बेला क्षमताको पहिचान हुने भएकोले आफू सबैको साथमा समाधान गर्न तयार भएको बताए।

‘समस्यकै समयमा हो क्षमताको पहिचान हुने, यही समस्या समाधानको अवसर अहिले मलाई प्राप्त भएको छ’ उनले भने,‘अहिलेका समस्या अल्पकालिन हुन् जुन सयुक्त प्रयासबाट समाधान हुन्छन् ।’