काठमाडौं–नेपालमा प्रवेश परीक्षा (इन्ट्रान्स) पास गरेका विद्यार्थी मात्र चिकित्सा शिक्षामा पोस्ट ग्य्राजुएट र ग्य्राजुएट तहको अध्ययनका लागि विदेश जान पाउने भएका छन्।


ADVERTISEMENT


कमजोर विद्यार्थी पैसाको बलमा विदेश गएर चिकित्सा शिक्षा आर्जन गर्ने तर चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा फेल हुन थालेपछि मेडिकल काउन्सिलले नयाँ नियम लागू गरेको छ। पोस्ट ग्य्राजुएट तहका लागि यही फागुनदेखि नयाँ नियम लागू गरिएको हो।


ADVERTISEMENT

# # #


नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले भने, ‘इन्ट्रास पास नगरी विदेशमा चिकित्सा शिक्षा पढ्न जान पाइँदैन भनेर रोक लगाएका छौं।’ एमबीबीएस र बीडीएसमा विदेशमा अध्ययन गर्नका २०१६ फेबु्रअरीदेखि यो नियम लागू गरिएको थियो। काउन्सिलले वर्षको तीनपटक एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिने गरेको छ। जसमा झन्डै १२ सय विद्यार्थी सहभागी हुँदै आएका छन्। यसमध्ये विदेशबाट पढेर आएका झन्डै ९० प्रतिशत फेल हुने गरेका छन्।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिइने प्रवेश परीक्षा उत्तीर्ण नगरी विदेशमा अध्ययन गर्न जान नपाइने नियम लागू गरिएको अध्यक्ष डा.बास्कोटाले बताए। प्रवेश परीक्षामा कम्तीमा ५० प्रतिशत नम्बर ल्याएको हुनुपर्ने व्यवस्था छ।

विदेश गएर फर्केका चिकित्सा शिक्षाका विद्यार्थीमा एमबीबीएसभन्दा बीडीएस पढेका विद्यार्थीको उत्तीर्ण हुने दर बढिरहेको काउन्सिलले जनाएको छ। नेपालबाट चिकित्सा शिक्षा अध्ययनका लागि चीन, भारत, बंगलादेशलगायत मुलुकमा जाने गरेका छन्।–आजको अन्नपूर्ण पोष्टबाट