दोलखा– ऐतिहासिक सहर दोलखा बजारमा मङ्गलबारदेखि सहकालका देवता मच्छिन्द्रनाथ रथ यात्रा सुरु भएको छ ।


ADVERTISEMENT


हिजो चैत्र शुक्ल पूर्णिमाका दिन सहकालका देवता मच्छिन्द्रनाथलाई दूधले स्नान गराइएको थियो । पर्वको पहिलो दिन बाजागाजासहित विधिपूर्वक मच्छिन्द्रनाथलाई दूधले स्नान गर्ने चलन छ । मङ्गलबार बिहानैदेखि निराहार व्रत बसेका व्रतालुहरु मच्छिन्द्रनाथको पूजा गरेपछि मात्रै भोजन ग्रहण गर्ने चलन रहेको समाजसेवी भरत प्रधानले बताए ।


ADVERTISEMENT

# # #


यसैगरी पर्वको दोस्रो दिन अर्थात् आज मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गराइने छ । रथारोहण गराइएपछि बिहीबारदेखि विधिपूर्वक रथयात्रा प्रारम्भ हुनेछ । रथयात्रा ऐतिहासिक सहर दोलखाका विभिन्न टोल टोल गरिनेछ जसअनुसार भोलि ३१ गते पिङ्गल टोलबाट नक्छेसम्म रथायात्रा हुनेछ ।

वैशाख १ गते नक्छे टोलबाट पुखुर्सी टोलसम्म रथ तानिने छ । वैशाख २ गते पुखुर्सी टोलबाट टसिचासम्म, ३ गते टसिचा टोलबाट माथिल्लो स्वयम्भूनाथसम्म, ४ गते माथिल्लो स्वयम्भूनाथ टोलबाट दुङ्गल टोलसम्म रथ तानिने छ ।

वैशाख ५ गते दुङ्गल टोलबाट पिङ्गल टोलसम्म रथ तानिने छ भने ६ गते मच्छिन्द्रनाथ रथ यात्रा पर्व डोक्लुङ्गास्थित मच्छिन्द्र घरमा पुर्याई विधिवत् रथयात्रा समापन गरिनेछ । मच्छिन्द्रनाथ रथयात्रा पछि पानी राम्रोसँग पर्ने, रोगव्याधि हट्ने, बालीनाली सप्रने जनविश्वास छ । यस पर्वको संरक्षण गर्न ऐतिहासिक सहर दोलखाका नेवार समुदायका युवा सक्रिय छन् ।