काठमाडौं–भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ । वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो ।


ADVERTISEMENT


घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बनाइएको छ । घाटीबगड, तम्बाकु, थिकोभेल र दोपखेमा अस्थायी पुल हालिएको छ । सीमा क्षेत्रमा भारतीय पक्षले यति ठूलो निर्माण कार्य गराउँदा नेपाली प्रशासनले सुइँकोसम्म पाएन ।


ADVERTISEMENT

# # #


कुन मितिमा पुल र बाटो निर्माण गरिएको भन्नेबारे आफूहरूलाई यकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ‘कहिले निर्माण गरेको रहेछ, बुझ्दैछौं,’ उनले भने ।

प्रहरीको दुम्लिङस्थित अस्थायी पोस्टले सीमाक्षेत्रमा पुल र बाटो निर्माण भइरहेको थाहा पाएपछि फागुन १० गते नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली यथार्थ बुझ्न खटिएको थियो ।

त्यस क्रममा भारतीय पक्षले महाकाली तारेर करिब डेढ सय मिटर परबाट ३ वटा डोजर भारतीय क्षेत्रमा पुर्‍याइसकेको देखियो । जबकि दुम्लिङबाट उक्त ठाउँ दुई घण्टाको पैदल दूरीभन्दा कम छ ।–आजको कान्तिपुरबाट