चितवन–गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अब अचम्म मान्नु नपर्ने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो ।


ADVERTISEMENT


यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


उन्नतजातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने आवश्यकता देखिएपछि यस्तो प्रविधि नेपालमा ल्याइएको थियो । अमेरिकाबाट भित्र्याइएको बाच्छी मात्रै जन्माउने वीर्य प्रयोग नेपालमा सफल भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यले बताए ।

डा. आचार्यले हालसम्म ५० वटा गाईमा परीक्षणस्वरूप वीर्य प्रयोग गरिएकोमा सफल भएको बताए । ‘शतप्रतिशत सफल भएको छ,’ उनले भने, ‘बाच्छी मात्र जन्माउने प्रविधिप्रति कृषकको चासो बढ्दै गएको छ ।’
डा. आचार्यले अनुसन्धान केन्द्रसँगै नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरासहित केही व्यावसायिक फर्मले यो वीर्य प्रयोग गरिरहेको जानकारी दिए ।

रामपुरमा यो वीर्य होलस्टेन गाईमा प्रयोग गरिएको थियो । एउटा गाईमा यो वीर्य दुई–तीनपटक प्रयोग गर्नुपर्ने अवस्था रहेकाले अहिले प्रयोगमा केही महँगो भएको उनले बताए । ‘यो वीर्य गाईमा एकपटक प्रयोग गर्दा ८ सय रुपैयाँ लाग्छ,’ उनले भने, ‘कृत्रिम गर्भाधान गरी वीर्यलाई गाईमा लगाइन्छ ।’

यस्तो वीर्य प्रयोगबाट जन्मिएका बाच्छीको तौल निकै राम्रो हुने र गाईले दूधसमेत धेरै दिने जानकारी दिँदै उनले जन्मँदैको बाच्छी ४४ किलोको र गाईको दूध दैनिक २६ लिटरसम्म हुने गरेको बताए । उनले अन्य वीर्य प्रयोग गरी जन्मिएका बाच्छीको तौल १७ किलो र ब्याएका गाईले १५ लिटर हाराहारीसम्म दूध दिने गरेको बताए ।

उनले यस्तो वीर्य बाहिरबाट भित्र्याउनुपर्दा महँगो पर्ने भएकाले पोखरामा आफैं वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिए । उनका अनुसार वीर्यमा हुने एक्स क्रोमोजोमले बाच्छा र वाई क्रोमोजोमले बाच्छी जन्माउने गर्छ । बाच्छी मात्र जन्माउने यो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ ।–आजको राजधानी दैनिकबाट