काठमाडौं–एमाले र माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बुधबार सहमतिमा हस्ताक्षर हुने भएको छ । तीन दलले सहमतिको ड्राफ्टमा सहमति जुटाएका छन् । तर शीर्ष नेताहरूबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुने छलफलमा सहभागी एमाले नेता सुवास नेम्वाङले बताए ।


ADVERTISEMENT


नेम्वाङसहित एमालेका प्रदीप ज्ञवाली र फोरमका राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले ड्राफ्ट तयार गरेका हुन् । ‘भोलि बिहान बैठक छ । नेताहरुले भोलि नै टुङ्गो लगाउने सम्भावना छ’, नेम्वाङले भने ।


ADVERTISEMENT

# # #


फोरमले उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने समझदारी यसअघि नै भैसकेको छ । यादव परराष्ट्रमन्त्री बन्ने समझदारी भैसकेको छ । फोरमले थप मन्त्रालय र उपसभामुखसमेत मागेको छ । यस विषयमा भने सहमति जुटिसकेको छैन ।

फोरमसँग एमाले र माओवादीले ‘आपसी सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने छ’ भन्ने वाक्याशं सहमतिमा राख्ने प्रतिवद्धता जनाएका छन् । फोरमले संविधान संशोधन भन्ने शब्द राखेर समझदारी गर्न प्रस्ताव गरेको हो ।

स्रोतका अनुसार फोरमकै आग्रहमा संघीय सीमाङ्कन आयोग गठन गर्ने विषयसमेत सहमतिमा उल्लेख हुनेछ । ड्राफ्टमा संघीय सीमाङ्कन आयोग गठन गर्ने विषयमा उल्लेख हुने एक नेताले बताए । संविधानको धारा २९५ मा संघीय सीमाङ्कन आयोगको प्रस्ताव छ । आयोगले सीमाङ्कन हेरफेर गर्न सरकारलाई सुझाव दिन सक्ने प्रावधान छ ।

फोरमले संविधानमा उल्लेख भएकै विषय सहमतिमा राख्न प्रस्ताव गरेको छ । संविधान जारी भएदेखिनै संघीय फोरमले सीमाङ्कनको विषयमा अहसमति जनाउँदै आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला सीमाङ्कन हेरफेरको विषयमा संशोधन प्रस्ताव अगाडि बढाएका थिए ।

रूपान्तरित संसदमा सो विषय टुङ्गोमा पुग्न सकेन । फोरमले प्रदेशको संख्या र सीमाङ्कन हेरफेर गर्ने शक्तिशाली आयोगको माग गर्दै आएको थियो । फोरम अहिले सीमाङ्कन आयोग स्वीकार गर्न तयार भएको हो ।

समझदारीमा हस्ताक्षर भए भोलि साँझ वा बिहीबार बिहान मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ओलीले गरेका छन् ।