काठमाडौं–वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । ५६ दिनदेखि घण्टाघरमा रिले अनशन गरिरहेको संर्घष समितिले मंगलबार होली मिलन समारोह गरी बन्दसम्मको कार्यक्रम घोषणा गरेको हो ।


ADVERTISEMENT


शान्तिपूर्ण आन्दोलन गर्दा सम्बन्धित निकायले चासो नदिएकोले कडा आन्दोलनमा जाने निर्णयमा पुगेको संघर्ष समितिका सह–संयोजक एवं पूर्व सांसद राजकुमार गुप्ताले बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्‍यौं, राजधानी बनाउनेबारे सम्बन्धित निकायले चासो दिएन । वार्ताको नाममा ललिपप देखाउने काम भयो’ उनले भने ‘ त्यसैले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौं ।’


ADVERTISEMENT

# # #


उनले आन्दोलनको स्वरुप परिवर्तन भएपनि रिले अनसन नहटाउने बताए । ‘आन्दोलनको स्वरुप फेरे पनि रिले अनसन हटाउँदैनौं, यथावत राख्छौं’ नेता गुप्ताले भने ‘वीरगञ्जलाई राजधानी नबनाएसम्म आन्दोलन रोकिदैन ।’ होली मिलन समारोहमा बोल्ने वक्ताहरुले होली लगत्तै आन्दोलन चर्काउने बताएका छन् ।

संघर्ष समितिले फागुन २३, २४ र २५ गते बारा, पर्सा, रौतहटमा वीरगञ्ज राजधानी बनाउन जागरण अभियान सञ्चालन गर्ने, २६ गते अन्तक्रिर्या कार्यक्रम गर्ने, २७ गते मशाल जुलुस प्रदर्शन गर्ने र २८ गते वीरगञ्ज बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिका सचिव श्याम पटेलका अनुसार वीरगञ्जलाई प्रादेशिक राजधानी नबनाएसम्म आन्दोलन जारी रहन्छ । संघर्ष समितिका संयोजक सुरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले रिले अनशनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रम पारित गरेको थियो ।

घण्टाघरमा आयोजित समारोहमा भोजपुरी गायक सुनिल पण्डित, नेपाली निरहुवा, आरजे दिनानाथ साह लगायत स्थानिय कलाकारले साँस्कृतिक कार्यक्रम तथा कालाकारिता प्रदर्शन गरेका थिए ।

जनकपुरलाई प्रदेश नं २ को अस्थायी राजधानी तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज आन्दोलित छ । आन्दोलनरत पक्षसँग प्रदेश सरकारले एक पटक वार्ता गरेको भए पनि वार्ता निश्कर्षविहीन भएको थियो ।