बुटवल – ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ !’ सडक छेउमै राखिएको यस्तो सूचना देखेर धेरैलाई अच्चम लाग्न सक्छ । सिद्धार्थ राजमार्गको ६ लेन सडकअन्तर्गत भैरहवा–बुटवल खण्डको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित सडक छेउमा राखिएको सूचना हो यो । सडकको ग्रीन जोन क्षेत्रमा बनाइएको आकर्षक सुन्दर शहीद पार्क (फूलबारी) मा रोपिएका फूलका बिरुवाको सुरक्षार्थ सिसी क्यामेरा राखिएका हुन् ।


ADVERTISEMENT


उक्त पार्कमा अहिले रु ३ लाखमा तीन वटा सिसी क्यामेरा जडान गरिएको र आवश्यकता अनुसार अन्य ठाउँमा पनि जडान गरिने बुटवल वडा नं १० का सदस्य बलु पुनमगर बताउँछन् । यस बाहेक स्थानीय स्तरमा नै रकम संकलन गरेर रु ७ लाखमा पार्क निर्माण गरिएको समेत उनले बताए ।


ADVERTISEMENT

# # #


बुटवल राजमार्गदेखि जोगिकुटीसम्मको ६ लेन सडकको ग्रीन जोन क्षेत्रमा बनाइएका आकर्षक तथा सुन्दर फूलबारीमा वडा जनप्रतिनिधि पुन बिहानै व्यस्त देखिन्छन् । उनको हरेक बिहानी उक्त फूलबारीमा रोपिएका फूलका बिरुवामा पानी हाल्ने, मल राख्ने र गोडमेल गर्ने काममा बित्छ । ‘यति मेहनत गरेर बनाएको फूलबारीको सुरक्षा पनि त उच्च बनाउनु पर्‍यो नि १ त्यसैले सिसी क्यामेरा जडान गरेका हौं,’ उनले भने, ‘सुरक्षा मात्रै हैन, संरक्षण पनि त्यत्तिकै गर्नुपर्छ ।’

पुनका अनुसार आगामी चैत महिनाभरिमा राजमार्ग चौराहादेखि जोगिकुटीसम्मको सम्पूर्ण ग्रीन जोन क्षेत्रमा यस्तै सुन्दर र आकर्षक फूलवारी बनिसक्ने छ ।

सिद्धार्थ राजमार्गको बुटवलदेखि मणिग्रामसम्मको झण्डै १२ किलोमिटर क्षेत्रमा हरेक बिहान कतै न कतै ती फूलबारीहरुमा स्थानीय बासिन्दा, टोल विकास समिति, आमा समूह र स्थानीय स्तरमा सञ्चालित वित्तीय संस्थाहरुका प्रतिनिधिहरु फूलबारी निर्माण, बिरुवाको स्याहार र थुप्रिएको फोहर ब्यवस्थापनमा सक्रिय रहेको देखिन्छन् । बुटवल राजमार्ग चौराहादेखि कालिकानगर, जोगिकुटी, शंकरनगर, ड्राइभर टोल, नयाँ मिल र मणिग्रामसम्मका स्थानीय बासिन्दाको सडक सिंगार्ने अभियानले पछिल्ला दिनमा धुलाम्मे र फोहर सडक सफा र आकर्षक मात्र बनेको छैन स्थानीय बासिन्दालाई वातावरणीय स्वच्छताप्रति जागरुक र सक्रिय समेत बनाइदिएको छ ।

सिद्धार्थ राजमार्गको यो व्यापारिक मार्गको धेरै भाग तिलोत्तमा नगरपालिकामा पर्छ । सडकको दुबै किनारमा यस खालको ग्रीन जोन क्षेत्र छुट्ट्याइएका छन् । तिलोत्तमा नगरपालिकाले सबैभन्दा पहिले यो अभियान शुरु गरेको हो । नगरपालिकाको अभियानअन्तर्गत हरेक महिनाको १ गते र १५ गते नगर जनप्रतिनिधिसहित स्थानीय जनता हातमा कुचो लिएर सडकमा निस्कन्छन् र सडकमा जम्मा भएका फोहर बढार्न थाल्छन् । यस्तो सामूहिक प्रयासले धुलाम्मे सडक सफा, स्वच्छ र हरियाली बन्दै गएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरे बताउँछन्।

सिद्धार्थ राजमार्गको बुटवल चौराहादेखि जोगिकुटीसम्म बुटवल उपमहानगरपालिकाको क्षेत्रमा र जोगिकुटीदेखि मणिग्रामसम्मको तिलोत्तमा नगरपालिकाको क्षेत्रमा दायाँबायाँ दुबैतर्फको ग्रीन जोन क्षेत्रका कतिपय स्थानमा नगर वडा कार्यालयले र अधिकाँश स्थानमा निजी तथा सामूहिक स्तरबाट यस्ता आकर्षक तथा सुन्दर फूलबारी निर्माण गरिएका छन् । यस्तो अभियान झण्डै १२ किलोमिटर राजमार्गको दायाँबायाँ दुवैतिर फैलिएको छ । ती फूलबारीहरुमा कतै ढकमक्क फूल फुलेका देखिन्छन् त कतै लटरम्म तरकारीसमेत फलाइएको भेटिन्छ ।

नगर प्रमुख घिंमिरे यस खालका कार्यक्रम नगरपालिका स्वयंले भन्दा जनसहभागितामा प्रभावकारी र सफल हुने ठानेर सञ्चालन गरिएको बताउनुहुन्छ । अहिले स्थानीय जनता, नर्सरी व्यवसायी र निजी क्षेत्रलगायतको सहभागितामा निक्कै प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्न सकिएकामा उनी खुशी व्यक्त गर्छन् र भन्छन् – ‘निर्माण भएका पार्कको संरक्षणको जिम्मेवारी नगरपालिकाले बहन गर्छ ।’

नगर प्रमुख घिमिरेका अनुसार तिलोत्तमा नगरपालिकाले शुरु गरेको यो योजना अहिले बुटवलमा शुरु भएको र भैरहवामा समेत शुरु हन लागेको छ । उनले भने, ‘६ लेन सडक निर्माण सकिँदा तिलोत्तमा नगर क्षेत्रमा पर्ने सडक हरियाली र फूलै फूलले ढकमक्क बन्नेछ ।’ रासस