काठमाडौं–संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।


ADVERTISEMENT


‘उहाँहरू दुईबुँदे सहमतिमार्फत सरकारमा सामेल हुन तयार हुनुभएको छ, सहमतिका लागि अन्तिम मस्यौदा पनि बनिसकेको छ,’ फोरमसँगको छलफलका लागि गठित कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘तर, शीर्ष तहमा मन्त्रालय बाँडफाँडसहित प्याकेजमा कुरा मिल्न बाँकी नै रहेकाले छलफल लम्बिँदै गएको हो।’


ADVERTISEMENT

# # #


दुईतिहाइ मत पुर्‍याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले फोरमसँगको वार्ता नटुंगिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आइतबारसम्म कुर्नुपर्ने बताए।

यस्तो छ सहमतिको मस्यौदा
संविधान संशोधनबारे संघीय समाजवादी फोरमले उठाउँदै आएको संविधान संशोधनसँग सम्बन्धित माग र मुद्दा संविधान संशोधनको माध्यमबाट संशोधन गर्ने ।

त्यस्तै, कतिपय विषय र एजेण्डा सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिनेछ । यी सबैको गृहकार्य गर्न आवश्यकताअनुसार संयन्त्र निर्माण गरेर अघि बढ्न सहमत भएका छौँ ।

सरकारमा सहभागिताबारे
–एमाले र माओवादी केन्द्रसँग सरकारमा सहकार्य गर्दै अघि बढ्न संघीय समाजवादी फोरम सहमत भएको छ ।

सरकारको प्रस्ताव २ फोरमको माग ३ मन्त्रालय
सरकारमा सहभागिताको विषयलाई लिएर सत्तारुढ एमाले–माओवादी र फोरम नेताहरूबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भयो । तर, मन्त्रालय बाँडफाँडमा सहमति जुट्न सकेन । प्रधानमन्त्री केपी ओलीले २ वटा मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए। तर, फोरम अध्यक्ष यादवले ३ मन्त्रालय मागे । यादवले प्रतिनिधिसभामा उपसभामुखसमेत दाबी गरेका छन् ।