काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘तीन पति’ पशुपति, राष्ट्रपति र सेनापतिसँगले आफू बेलाबेला झस्किने गरेको बताएका छन् ।


ADVERTISEMENT


प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. विष्णु दाहालको पुस्तक ‘पशुपतिमा सात दिन’ को बिहीबार लोकार्पण गर्दै दाहालले भने–तीन पति पशुपति, राष्ट्रपति र सेनापतिसँग अझै पनि झस्कन्छु । मैले त्यसबेला सुधारकै लागि यी क्षेत्रमा काम गर्ने प्रयास गरेको थिएँ ।”


ADVERTISEMENT

# # #


प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथमा भारतीय पुजारीको सट्टा नेपाली पुजारी राख्ने निर्णय भएको थियो । डा. दाहाल पुजारी नियुक्त भएका थिए । तर, नेपाली कांग्रेस, एमालेसहितका दलहरुको आन्दोलन र भारतीय दबावमा निर्णय उल्टियो ।

प्रचण्ड सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने निर्णय गर्‍यो । तर, कांग्रेस र एमालेसहितका दलले राष्ट्रपति गुहारे र सेनाका परामाधिपतिका हैसियतमा डा. रामवरण यादवले कटवाललाई थामौती दिए । यो प्रकरणपछि माओवादीले नागरिक सर्वोच्चको नारा दिएर राष्ट्रपतिविरुद्ध आन्दोलन नै थाल्यो । तर, माओवादीको त्यो आन्दोलन पनि सफल भएन ।

शान्ति प्रक्रिया हुँदै संविधानसभाको पहिलो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादीको पतन त्यही ६ दिने आन्दोलनको असफलतासँगै सुरु भएको मानिन्छ । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने तीन वटै क्षेत्रमा आफूले सुधार गर्न खोजेको बताए ।

पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, सेनापतिको बारेमा कुरा गर्नपर्‍यो भने पनि झस्किन्छु । तर, कुरा के प्रष्टै हो भने चाहे पशुपति, चाहे राष्ट्रपति चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भाबनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग पुर्‍याउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पबित्र भावना थियो ।’

उनले अघि भने, ‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै कन्फ्युजन अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर, जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’

राष्ट्रवादका र लोकतन्त्रको चर्को कुरा गर्नेहरुलाई आफूले धेरै नजिकबाट नियाल्ने मौका पाएको भन्दै प्रचण्डले पशुपति, प्रधानसेनापति र राष्ट्रपतिको विषयमा आफ्नो बिचार नबदलिएको बताए । उनले भने, ‘अहिले पनि भावनाको दृष्टिकोणले बिचारको दृष्टिकोणले म त्यहिँनेर नै छु, जहाँ त्यतिबेला थिएँ । तर अनुभवको दृष्टिकोणले म आज नयाँ ठाउँमा छु र दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा अलि परिपक्व ढंगले ति बिचार र भावनाहरुलाई अगाडि बढाउन चाहेको छु ।