काठमाडौं – सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ।
हिम रिभर पावर लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनाबाट उत्पादित विद्युत् २०८३ साल मंसिर ६ गतेदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै विद्युत् उत्पादन तथा प्रसारण प्रक्रिया सुरु भएको हो।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा रहेको आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अघि बढाएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पर्खिरहेको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ।
कम्पनीले कुल २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयर कम्पनीको जारी पुँजीको २० प्रतिशत हो।
कुल निष्कासनमध्ये १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी १३ लाख ३० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
२०६७ सालमा प्राइभेट कम्पनीका रूपमा स्थापना भएको हिम रिभर पावर लिमिटेड सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा लिपिङ खोला जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादनको चरणमा प्रवेश गरेको हो।
यसैबीच, आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण गरिएको प्रसारण लाइन चार्ज गर्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै कम्पनीले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
कम्पनीका अनुसार भोटेकोशी गाउँपालिका–२ स्थित आयोजनाको पावरहाउस स्विचयार्डदेखि वडा नं. ४ स्थित सुनखानी सबस्टेसन हुँदै लामोसाँघुसम्मको प्रसारण लाइनमा परीक्षण तथा चार्जिङ कार्य गरिनेछ। मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले उक्त अवधिमा प्रसारण लाइन आसपास गाईवस्तु तथा चौपाया नचराउन, टावर तथा अन्य विद्युतीय संरचनामा नचढ्न, तार तथा विद्युतीय संरचना नछुन र त्यसको नजिक जोखिमपूर्ण गतिविधि नगर्न कम्पनीले अनुरोध गरेको छ।
प्रसारण लाइन चार्जिङका क्रममा हुन सक्ने जोखिमबाट स्थानीय बासिन्दा, पशुचौपाया तथा अन्य भौतिक संरक्षाको सुरक्षा सुनिश्चित गर्न कम्पनीले यस्तो आग्रह गरेको जनाएको छ।



























