काठमाडौं–प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनको कार्यतालिका सर्वदलीय बैठकले स्वीकृत गरेको छ । संघीय संसद् सचिवालयले सो कार्यतालिका बनाएको हो । कार्यतालिकाअनुसार २६ फागुनमा सभामुखको निर्वाचन हुनेछ भने ३० फागुनमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गरिनेछ ।


ADVERTISEMENT


त्यस्तै, प्रधानमन्त्री केपी ओलीले २७ फागुनमा प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनेछन् । त्यस्तै २ फागुनमा उपसभामुख र ४ फागुनमा राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन मिति तोकिएको छ । संघीय संसद् र प्रदेश सभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको निर्वाचनको मिति निर्वाचन आयोगले तोकेर सरकारलाई जानकारी गराउनुपर्छ । सोहीबमोजिम आयोगले २९ फागुनका लागि राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ । २९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले संघीय संसद्को दुवै सदनमा कुनै पनि कार्यक्रम नराखिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का सांसद र प्रदेश सभाका सांसद राष्ट्रपतिको निर्वाचनका मतदाता हुन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐनअनुसार संघीय संसद्का एक सदस्यको मतभार ७९ तोकिएको छ भने प्रदेश सभाका एक सदस्यबराबरको मतभार ४८ तोकिएको छ ।

७ वटै प्रदेश सभाका ५५० र संघीय संसद्का ३३४ गरी ८८४ सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् ।–आजको नयाँ पत्रिकाबाट