विराटनगर – सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरिएको छ । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मंगलबार विराटनगरबाट अभियानको शुभारम्भ गरिएको हो ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले अभियानको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# #


कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै चालक, सहचालक, यातायात व्यवसायी, यात्रु तथा सम्बन्धित सबै पक्षको साझा सहकार्य आवश्यक रहेको बताए ।

मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्नु, जथाभावी ओभरटेक गर्नु र लेन अनुशासन पालना नगर्नु दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाइ थियो । उहाँले सवारी साधनको नियमित जाँचसँगै सडकको अवस्था, मौसम र भौगोलिक जोखिमलाई ध्यान दिँदै ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरे ।


ADVERTISEMENT

#
#


यसैबीच, कार्यक्रममा इमानदारी प्रदर्शन गर्ने एक सिटी सफारी चालकलाई सम्मान गरिएको छ । गत कात्तिक १६ गते आफ्नो सिटी सफारीमा यात्रुले छुटाएको पाँच लाख रुपैयाँ नगद रहेको झोला कुनै प्रलोभनमा नपरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने चालक जितबहादुर राईलाई प्रदेश प्रहरी प्रमुख खनालले सम्मान गरेका हुन् राई सुरक्षित चालक नम्बर ३६६ का रूपमा परिचित छन् ।

सुरक्षित यात्रा अभियानलाई प्रभावकारी बनाउन कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । साथै सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालयले टिकटक प्रतियोगितासमेत आयोजना गरेको छ ।

प्रतियोगितामा सहभागी हुन आम नागरिक, यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रुले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देशमूलक भिडियो निर्माण गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पठाउन सक्नेछन् ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवाल, यातायात व्यवसायी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।