काठमाडौं–साझा यातायातले बुधबारदेखि राजधानीमा सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ । बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई मध्यनजर गर्दै ठूला अस्पतालहरूको रुटमा यो अपांगमैत्री बस गुड्न थालेको हो ।


ADVERTISEMENT


भुइँबाट एक स्टेप टेकेपछि बसमा उक्लिइन्छ । अन्य साझामा जस्तै पछाडिको ढोकाबाट उक्लिने हो । पछाडिको ढोका फराकिलो छ । अरुमा जस्तो ३–४ स्टेप उक्लनुपर्ने वा ओर्लनुपर्ने समस्या यसमा हुँदैन । जसले गर्दा बृद्धवृद्धा, महिला तथा बिरामीका लागि त सहजता थपिएको छ नै अपांगता भएकाहरूका लागि पनि ह्विलचेयरसहित छिर्न सक्ने व्यवस्था यसमा गरिएको छ ।


ADVERTISEMENT

# # #


ह्विल चेयर छिराउनका लागि स्टेपलाई भुइँमा सतही हुनेगरी झारिन्छ । त्यही समतल पाताबाट ह्विल चेयर बसमा छिराइन्छ । ढोका नजिकै चेयर रहने गरी खुला ठाउँ राखिएको छ । चेयर अड्याउन उनीहरू बसमा भएको बेल्टको प्रयोग गर्न सक्छन् । बेल्टको प्रयोग गरेपछि चेयर तलमाथि जान पाउँदैन । त्यही समतल पाताबाट उनीहरू ओर्लन सक्छन् ।

यो बसको लम्बाई १२ मिटर छ । अरुभन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन् ।

ड्राईभर सहित यो ४१ सिट क्षमताको छ । बसको सिट पनि अरुको भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ । पछाडि ढाडको संरचनालाई मिल्नेगरी सिटलाई सहज बनाइएको छ । २ बाई २ सिट रहेको बसमा उभिनका लागि पर्याप्त ठाउँ छ । उभिनेले बसमा ‘ह्याङ्गर’ समाएर आफूलाई नियन्त्रण गर्न सक्छन् । अन्यमा जस्तै महिला तथा वृद्धवृद्धाका लागि सिट आरक्षित गरिएको छ ।

अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो । यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन् । त्यहीअनुसार आफू ओर्लनका लागि प्यासेन्जर तयारी अवस्थामा रहन सक्छन् ।

अन्य साझाका बसमा भएका सिसि क्यामरा, टिभी लगायतका सुविधा यसमा पनि छन् । यो बस गियररहित भएकोले ड्राईभरलाइ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ ।

यो बसलाई वीरगंज भन्सारबाट ६२ फुटको ट्रेलरमा राखेर नेपाली चालक सेख तबरेजले ल्याएका थिए ।