काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुईतिहाइभन्दा बढी मत पाउने भएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबार अपराह्न बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्ने छन् । त्यसपछि प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ। शनिबार साँझसम्मको राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पक्षमा मतदान गर्ने सम्भावना भए पनि निर्णय भने गरिसकेको छैन । नेमकिपाले पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ ।

यस हिसाबले ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् । यसअघि २०१५ मा सम्पन्न संसदीय चुनावमा नेपाली कांग्रेसले १ सय ९ सदस्यीय प्रतिनिधिसभामा ७५ सिट जितेको थियो । त्यसपछि बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।

समयक्रममा ६ दशकपछि नेपाली कांग्रेसबाहेक सबैजसो राजनीतिक दल सरकारको पक्षमा एकै ठाउँमा उभिएका छन् भने कांग्रेसमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएको छ ।

त्यसो त नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा. बाबुराम भट्टराई विदेश भ्रमणमा भएका कारण मतदानमा सहभागी हुने छैनन् । उनी आइतबार साँझमात्रै स्वदेश फर्कंदै छन्।–आजको नागरिक दैनिकबाट