काठमाडौं–जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ । नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।


ADVERTISEMENT


अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले नटआउट ५२ रन जोडे । रहेमत शाहले ४६, मोहमद नावीले ३४, जाभेद अहमेदीले २६ तथा कप्तान रसिद खानले २१ रन बनाए । त्यसअघि जिम्बावेस्थित बुलावायो स्पोर्टिङ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको अर्धशतकीय पारी खेले । ८२ बलको सामना गर्दै पारसले १० चौका र १ छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२(४१ बल) रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे। आरिफ सेखसँगै ज्ञानेन्द्र मल्लले समान २३ रन जोडे । अनिलकुमार साह ७, सोमपाल कामी ९,रोहितकुमार पौडेल १ र करण केसी ६ रनमा आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए । १० ओभर बलिङ गरेका नाबीले ३३ रनमात्रै खर्चे । यस्तै रासिद खानले ३ तथा सफुर जर्दानले २ र मुजिब युर रहमानले १ विकेट लिए ।

यसैबीच नेपालको अघिल्लो चरण प्रवेश सम्भावना अझै बाँकी छ । अन्तिम खेलमा सोमबार हङकङलाई फराकिलो अन्तरमा हराउन सके नेपाल, अफगानिस्तान र हङकङमध्ये रनरेटका आधारमा छनोट हुने सम्भावना बाँकी रहन्छ ।

यो समूहबाट स्कटल्याण्ड र जिम्बाम्बे सुपर सिक्समा पुग्नेछन् भने बाकी ३ टिम मध्ये अन्तिम खेलमा नेपालले हङकङलाई हराए रनरेटका आधारमा सुपरसिक्स पुग्ने सम्भावना कायमै रहेको छ ।

नेपाल र हङकङ बीच सोमबार खेल हुनेछ । १ जित हाँसिल गरिसकेकोले हङकङले नेपाललाई पराजित गरे उ सुपर सिक्स चरण पुग्नेछ भने नेपालले हङकङलाई पराजित गरेको खण्डमा नेपाल, अफगानिस्तान र हङकङको समान २ अंक हुनेछ र अंकतालिकामा उत्कृष्ट हुने टिम सुपर सिक्स प्रवेश गर्नेछ ।

तर नेट रन रेट निकै कमजोर रहेको नेपालले हङकङलाई ठूलो अन्तरले पराजित गरे पनि सम्भावना कम रहेको छ। नेपालको नेट रन रेट–१.५४६ रहेको छ भने अफगानिस्तानको ०.०३८ र हङहङको–१.२४६ छ । यस कारण नेपालको सुपर सिक्स पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

अनुमानित हिसाबमा यदी नेपालले हङकङलाई १५०–२०० रन अन्तरले पराजित गर्ने हो अथवा हङकङले दिएको लक्ष्य १५–२० ओभरमा पुरा गर्ने हो भने मात्र नेपालले अफगानिस्तानलाई नेट रनरेटमा जित्न सक्छ र सुपर सिक्स छनोट हुन सक्छ ।