काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदै छन् । राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन् ।


ADVERTISEMENT


वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन् । ठाकुरले आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी संसद्मा गराए ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ । यस्तै, संसद्को शनिबार बसेको बैठकले सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सर्वसम्मत निर्वाचित गरेको छ । प्रमुख विपक्षी कांग्रेससमेतको समर्थनमा महरा निर्विरोध निर्वाचित भएका हुन् ।

सभामुख पदका लागि महराको एक मात्र उम्मेदवारी परेको भन्दै ज्येष्ठ सदस्य ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे । वाम गठबन्धनका तर्फबाट महरालाई सभामुखका रूपमा अघि सारिएको थियो । त्यसअघि संसद्मा महरालाई सभामुख बनाउन पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले राखेको प्रस्तावलाई माओवादी केन्द्रका देव गुरुङ र कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन जनाएका थिए।– आजको अन्नपुर्ण पोष्टबाट