काठमाडौं–बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । साथै घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिवद्धता पनि सरकारले जनाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीको सचिवालयबाट आइतबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ ।’


ADVERTISEMENT

# # #


यही फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको र स्थानीयबासी मुकदर्शक बनेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपनि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको थियो ।

राधामाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन ।’

कैलालीको यो घटनाले देशकै बेइज्जत भएको सरकारको ठहर छ । ‘नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ ।’