काठमाडौं–राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई समर्थन गरेको राजपाका नेताहरूसँग पनि औपचारिक–अनौपचारिक छलफल जारी राखेका छन् । प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्ष दाहालसँग बालुवाटारमा लामो संवाद गरेका थिए । दुवै नेताबीच मंगलबार पनि सरकार विस्तारमा केन्द्रित छलफल भएको राष्ट्रपति चुनावमा मतदान गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका ओली–दाहाल दुवैले स्विकारेका थिए ।


ADVERTISEMENT

# # #


फागुन ३ मा प्रधानमन्त्री भएका ओलीको मन्त्रिमण्डल अहिलेसम्म सात सदस्यीय मात्र छ । एमाले उपमहासचिव विष्णु पौड्यालका अनुसार अहिले प्रधानमन्त्रीको ध्यान सरकारलाई पूर्णता दिनमा लगाएका छन् । ‘प्रधानमन्त्री अब सरकारलाई पूर्णता दिने छलफलमा जुट्न थाल्नुभएको छ’, पौड्यालले भने, ‘राजपा र संघीय फोरम दुवै दललाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले छलफल गर्नुभएको छ । छलफल सकारात्मक छ । अब धेरै दिन पर्खनुपर्दैन, एक/दुई दिनमै सरकारले पूर्णता पाउँछ।’–आजको अन्नपुर्ण पोष्टबाट