काठमाडौं – सगरमाथा प्रदूषण नियन्त्रण समितिले सगरमाथा क्षेत्रबाट यो वर्षको हालसम्म १ लाख किलोग्राम नजल्ने खालको फोहर संकलन गरेको छ । उक्त फोहोरलाई शनिवारदेखि काठमाडौं ल्याउन सुरु गरिएको छ ।


ADVERTISEMENT


सगरमाथा क्षेत्रमा दैनिक उडान गर्दै आएको तारा एयर र एती एयरलाइन्सले ती फोहोर काठमाडौं ओसार्न लागिएको हो । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार नाम्चे बजारबाट सबैभन्दा बढी फोहर संकलन भएको छ । नाम्चे बजारबाट मात्रै ५० हजार किलो नजल्ने फोहर संकलन भएको छ ।


ADVERTISEMENT

# # #


समितिले २५ क्षेत्रमा रहेका यस्ता संकलन केन्द्रबाट लुक्ला विमानस्थलसम्म ल्याएको छ । उक्त फोहोरलाई यती एयरलाइन्सले काठमाडौंसम्म ल्याउने छ ।

सन् २००८ देखि सगरमाथा क्षेत्रमा संकलित फोहरलाई काठमाडौं ल्याउन समितिलाई एती एयरलाइन्सले सहयोग गर्दै आएको छ । कार्बन उत्सर्जन नियन्त्रणका लागि एती एयरलाइन्सले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालसँग साझेदारी गर्दै आएको छ ।

१९९१ मा स्थापना भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले सगरमाथा क्षेत्रमा उत्पादन हुने फोहरलाई व्यवस्थापन गर्दै आएको छ । यसले सगरमाथा राष्ट्रिय निकुञ्ज सहित सगरमाथा क्षेत्रको फोहर व्यवस्थापन गर्ने गर्छ ।

काठमाडौंमा ल्याइएको यस्तो फोहरको व्यवस्थापन नेप वेस्ट ब्लू वेस्ट टु भ्यालुले गर्न लागेको छ ।

अहिले सगरमाथा क्षेत्रमा वाषिर्क करिब ४६ हजार पदयात्री पुग्ने गरेका छन् । सगरमाथामा मात्रै वाषिर्क ७ सयले आरोहण गर्ने गरेका छन् । यस क्रममा उनिहरूबाट ठुलो मात्रामा नजल्ने फोहर सगरमाथा क्षेत्रमा थुप्रिने गरेको छ ।

यस्तो नजल्ने फोहोरमा अधिकांश बोतल, खाद्यान्न राख्नको लागि प्रयोग हुने टिनको डब्बा र ट्रेकिङ तथा हिमाल चढ्न प्रयोग हुने विभिन्न साधन हुने गरेको समितिका अध्यक्ष शेर्पा बताउँछन् ।

सगरमाथा क्षेत्रमा गत वर्ष १ लाख भन्दा बढी मानिस पुगेका थिए । उनिहरूका कारण कुल कति फोहर उत्पादन भयो भन्ने बारेमा भने समितिसँग कुनै आकडा छैन ।