काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


आज (आइतबार) सभामुखको कार्यालय सिंहदरबारमा कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत ली झाङ्शुले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


सभामुख महराले दुवै राजदूतहरुसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताए । भेटघाटका क्रममा दुवै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।

सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध बिस्तार गरेर लैजाने बताए ।

सो अवसरमा सभामुख महराले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्नेतर्फ पहल बढाउनुपर्नेमा जोड दिए । उनले कतारमा अहिले आठ लाख बढी नेपाली कामदारहरु रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गरे ।

त्यस्तै छुट्टै भेटमा सभामुख महराले उत्तर कोरियाका राजदूत च्यो टी पोकसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए । पछिल्लो समय वार्ताका माध्यामबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा उत्तर कोरियाका राजदूत च्यो टी पोकले सभामुखमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्दै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाएका थिए ।

साथै उहाँले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताए । भेटवार्ताको अवसरमा लीले सभामुख महरालाई उत्तरकोरिया भ्रमणका लागि आग्रह गरे ।

जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताए ।

‘म उत्तरकोरियाको भ्रमण गर्न इच्छुक छु, अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु, उनले भने, ‘त्यहाँ पुगेर किम इल सुङको घर, जंगलभित्रको म्यूजियम र उत्तरकोरियाको विकास अवलोकन गर्ने चाहना छ ।’