काठमाडौँ – सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ।

सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले पाँच वर्षमा एक हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान गरेको छ । जसबाट ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन् भने हालसम्म १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएका छन्।


ADVERTISEMENT

# #


सामाजिक समस्या पहिचान गरी उद्यमशीलताको माध्यमबाट दिगो समाधान खोज्ने उद्देश्यसहित सञ्चालनमा आएको नबिल एसएसईले छोटो अवधिमै नेपालमा सामाजिक उद्यमशीलताको अग्रणी कार्यक्रमका रूपमा आफ्नो पहिचान स्थापित गरेको बैंकले जनाएको छ। कार्यक्रमले उद्यमशील सोच भएका युवालाई ज्ञान, सीप, मार्गदर्शन, व्यावसायिक सञ्जाल तथा आवश्यक अवसर उपलब्ध गराउँदै उनीहरूका नवीन विचारलाई प्रभावकारी र दिगो उद्यममा रूपान्तरण गर्न सहयोग गर्दै आएको छ।

नबिल बैंकका अनुसार, फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना लाभान्वित भएका छन्। फेलोसिप कार्यक्रमका छ वटा समूहबाट ११३ जना फेलो प्रशिक्षित भएका छन्, जसको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भई सञ्चालनमा रहेका छन्। त्यस्तै, देशभरका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएको सर्टिफिकेट कोर्समार्फत एक हजार ४६७ जना सहभागी लाभान्वित भएका छन्, जसले २२५ वटा उद्यम स्थापना गरेका छन्।


ADVERTISEMENT

#
#


नबिल एसएसईले केवल व्यवसाय स्थापना गर्ने सीपमा मात्र नभई सामाजिक समस्या समाधानलाई उद्यमशीलताको केन्द्रमा राख्दै आएको छ। कार्यक्रममा सहभागीहरूले व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मापन, लगानी आकर्षण तथा उद्यम सञ्चालनका विविध पक्षमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाएका छन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले नबिल एसएसईको पाँच वर्षे यात्राले सामाजिक उद्यमशीलताको माध्यमबाट दिगो परिवर्तन सम्भव रहेको पुष्टि गरेको बताए। “नबिल एसएसईले उद्यमशीलतालाई केवल आर्थिक गतिविधिका रूपमा नभई सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ। पछिल्ला पाँच वर्षका उपलब्धिले सही ज्ञान, मार्गदर्शन र अवसर प्राप्त हुँदा नेपाली युवाले आफ्ना नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने प्रमाणित गरेको छ,” ज्ञवालीले भने।

उनले आगामी दिनमा पनि नबिल बैंक सामाजिक उद्यमशीलताको प्रवद्र्धनमार्फत समावेशी आर्थिक विकास र दिगो सामाजिक रूपान्तरणका लागि प्रतिबद्ध रहने बताए।

नबिल एसएसईअन्तर्गत प्रशिक्षित उद्यमीहरूले स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गर्दै सामाजिक, आर्थिक तथा वातावरणीय चुनौतीहरुको उद्यमशील समाधान विकास गरिरहेका छन्। नेपालको मौलिक संस्कृति तथा जीवनशैलीमा आधारित अनुभवभूलक पर्यटन स्थानीयन कृषि उत्पादनको प्रवर्दन तथा बजार बिस्तार, ड्रोन प्रविधिमा आधारित नवीन समाधान, स्थानीय कारीगरहरुको रुपमा आधारित उत्पादन विकास तथा बजारीहरण, सूचना प्रविधिमार्फत रोझगारीको अवसरमा पहुँच विस्तार एवं विद्यार्थी र युवाहरुको मानसिक तथा भावनात्मक सुस्वास्थ्य प्रवर्दधन लगायतका क्षेत्रमा संचालित उद्महरु यसका उल्लेखनीय उदाहरण हुन्।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको नबिल एसएसई फेलोसिप कार्यक्रम छ महिनाको गहन सिकाइ तथा क्षमता विकास कार्यक्रम हो। कार्यक्रममा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, सहकर्मी सिकाइ, व्यावसायिक मोडल विकास तथा लगानीकर्तासमक्ष व्यवसायिक योजना प्रस्तुत गर्ने (पिचिङ) लगायतका गतिविधि समावेश छन्। यसले सहभागीलाई आफ्नो उद्यमलाई थप व्यवस्थित, व्यावसायिक र दिगो बनाउन आवश्यक ज्ञान तथा व्यावहारिक अनुभव प्रदान गर्दै आएको छ।

पाँच वर्षको यात्रामा नबिल एसएसईले देशका विभिन्न भूगोल, समुदाय तथा क्षेत्रका उद्यमीलाई एउटै प्लेटफर्ममा जोड्दै सामाजिक नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ। कार्यक्रमले आगामी दिनमा आफ्नो प्रभाव र दायरा थप विस्तार गर्दै नयाँ समूहका उद्यमीलाई समेट्ने लक्ष्य लिएको जनाएको छ।

बैंकका अनुसार हाल नबिल एसएसई फेलोसिप कार्यक्रमको सातौँ समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने विभिन्न साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्स समूह सञ्चालन भइरहेका छन्।

पाँच वर्षको अनुभव, ३१८ सफल उद्यम र १९ हजारभन्दा बढी रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गर्दै नबिल एसएसईले नेपालमा सामाजिक उद्यमशीलताको एउटा सशक्त आन्दोलनका रूपमा आफूलाई स्थापित गरेको छ। आगामी दिनमा अझ धेरै युवालाई सामाजिक उद्यमशीलतासँग जोड्दै दिगो सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको बैंकले जनाएको छ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।