काठमाडौं–कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरू गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए ।


ADVERTISEMENT


‘राम्रो योजना ल्याउन सके अझै चाँडै आत्मनिर्भर बन्न सकिन्छ । गहिरो अध्ययन हुँदैछ’, खनालले भने ।साक्षात्कारमा मन्त्री खनालले पाँच वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिनेसमेत दाबी गरे । कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाइ छ । त्यसैगरी सातदेखि दशवर्षसम्ममा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरू गरिने उनले बताए ।


ADVERTISEMENT

# # #


अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताउँदै समग्रमा विकास र स्थिरता नै सरकारको लक्ष्य भएको बताए ।अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए ।

‘आयात र खरिद मात्रै हुनु दुखद हो । त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ’, खनालले भने । यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै उनले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्ने बताए ।

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ । कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताए ।

“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।” मन्त्री खनालले भूमि व्यवस्थापनका लागि पनि आफूले तत्काल नयाँ काम थाल्ने बताए । भूमि व्यवस्थापनका लागि मालपोत र नापी कार्यालयलाई नै व्यवस्थित गर्नुपर्ने उनको तर्क छ । जमिन खण्डिकरण र कित्ता काट रोक्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेर निर्णय गर्ने खनालले बताए ।

सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने विषयमा पनि आफू गम्भीर भएको खनालको तर्क छ ।