काठमाडौं – ललितपुर महानगरपालिकाले असोज १६ देखि १८ गतेसम्म महिला उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरले स्थानीय महिला उद्यमीहरूलाई विश्व बजारसँग जोड्न नेटवर्किङ र सहकार्यको अवसर सिर्जना गर्ने उदेश्यका साथ महानगरपालिका परिसरमा मेला आयोजना गर्न लागिएको जनाएको हो ।

मेलामा हस्तकला, पश्मिना, ढाका कपडा, तयारी पोशाक तथा जैविक कृषि उपजको प्रदर्शनीका साथै हस्तकला निर्माण प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्न सकिने ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्यले जानकारी दिइन् । स्थानीय महिलाहरुले उत्पादन गरेका सामग्रीहरू स्थानीय बजारमा पुगिसकेकाले अब ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्दै “लोकलबाट ग्लोबल“ पुर्याउन प्रदर्शनी आयोजना गरिएको उनले बताइन् ।

विदेशी सामानको तुलनामा नेपाली महिलाहरूले उत्पादन गरेका वस्तुहरू निकै हाइजिनिक, गुणस्तरीय र स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर बनाइएको भन्दै उनले उपभोक्ताहरू स्वास्थ्यप्रति सचेत हुँदै गएकाले मेलामा छानेर ब्राण्डिङ गर्न योग्य सामानहरू मात्र राखिने जानकारी दिइन् ।