काठमाडौं – बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अधिकता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।

केन्द्रीय बैंकले ६१ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै उक्त रकम प्रशोचन गर्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार मंसिर ११ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ। उपकरण आजै जारी गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिने सूचनामा उल्लेख छ।


ADVERTISEMENT

# #


यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले आफूले चाहेको ब्याजदरमा प्रस्ताव पेस गर्न सक्नेछन्। प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले रकम बाँडफाँड गर्नेछ। समान ब्याजदरका कारण माग गरिएको रकम निष्काशित सीमाभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था छ।


ADVERTISEMENT

#
#


निक्षेप संकलन उपकरणमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ। साथै, तोकिएको भुक्तानी मितिअघि निक्षेप रकम फिर्ता नहुने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले बोलपत्र स्वीकृत भएपछि सम्बन्धित बैंकको खाताबाट रकम कट्टा गर्ने जनाएको छ। खातामा पर्याप्त रकम नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राख्नुका साथै आगामी बोलकबोलमा सहभागी हुनसमेत रोक लगाइने चेतावनी दिएको छ।