काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले २ वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको पनि स्पष्ट पारे । उनले २०७६ सालभित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे ।


ADVERTISEMENT

# # #


शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गरे । उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गरे । अब मजाक उडाउन नदिनेगरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले आफू नेतृत्वको सरकार देश बनाउन आएको पनि दोहोर्याए ।

प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताए । उनले सरकारले अव उद्यम विकासको लहरनै सृजना गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन, कानुनको व्यवस्था गर्न लागिएको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार घरघरमा महिलाहरुले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । निजी क्षेत्रलाई प्रोत्साहित गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।

सरकारकै योजना अनुसार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ । ३ सय भन्दा बढि स्वदेशी उत्पादनका स्टलहरु रहेको प्रर्दशनीमा करिब ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।