काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ ।


ADVERTISEMENT


स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् । त्यसको पुष्टि गर्दै एक नेताले भने, ‘कुरा आएको छ तर, भ्याइन्छ कि भ्याइँदैन भन्न सकिन्न ।’ यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


एमाले र माओवादीले साझा घोषणापत्र र उम्मेदवार बनाएर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए ।प्रमुख पदहरुमा भागवण्डा गरेका दुई दलले केन्द्रका साथै ६ वटा प्रदेशमा संयुक्त सरकार बनाएका छन् ।

७ फागुनमा सातबुँदे सहमति भएको थियो, जसमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ राख्ने उल्लेख छ ।

त्यसपछि संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयमा गृहकार्य गर्न कार्यदल पनि बन्यो । कार्यदलका धेरै सदस्य मन्त्री बनेपछि एकतासम्वन्धी छलफलले प्राथमिकता पाएको छैन । यद्यपि नेताहरुले कार्यदलमा छलफल अन्तिम चरणमा पुगेको र केही दिनमा शीर्ष नेताहरु रहेको पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने दाबी गरेका छन् ।