काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार तथा छठ पर्वयता सरकारबाट भएका प्रमुख कामकारबाही र कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भएका कामको विवरण सार्वजनिक गर्दै कार्यालयले भारतको दुईदिने राजकीय भ्रमण, विपद् व्यवस्थापन, सुशासन, सार्वजनिक खरिद सुधार तथा विकास आयोजनालाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको हो।
कार्यालयका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण सम्पन्न गरी दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न सहकार्यका विषयमा छलफल गरेका छन्।
त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरिएको छ। बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ।
विपद् व्यवस्थापनतर्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। जसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
सरकारले संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरेको छ। त्यस्तै, राष्ट्रिय दूरसञ्चार नीति २०८३ को मस्यौदा परिमार्जन प्रक्रिया अघि बढाइएको छ भने सरकारी सीपमूलक तालिमको गुणस्तर सुधारका लागि अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ।
सूचना प्रविधि क्षेत्रलाई विदेशी लगानीको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारीसमेत अघि बढाइएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संवेदनशील सूचना पूर्वाधारको पहिचान तथा संरक्षणसम्बन्धी कार्यशाला पनि सम्पन्न गरेको छ।
विकास आयोजनातर्फ तल्लो अरुण जलविद्युत् परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ। उक्त परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट भइसकेको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद प्रणाली सुधारअन्तर्गत नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्। सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ पनि स्वीकृत भई जारी गरिएको छ।
यसैगरी, निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको छ। सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्ने कामसमेत अघि बढाइएको छ।
सुशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न जिल्लामा कर्मचारीको आचारसंहिता पालना, सेवाग्राही सन्तुष्टि तथा सार्वजनिक निकायको कार्यसम्पादन अनुगमन गर्न टोली परिचालन गरिएको छ। प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमितताबारे अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली खटाइएको छ।
यसैबीच, लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ। नेपाल ट्रष्टको स्वामित्वमा रहेको धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी जग्गाको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भाव्यता अध्ययनसमेत गरिएको छ।
कार्यालयले नेपाल ट्रष्टको सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको पनि जनाएको छ।



























