काठमाडौं । नेपालको गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा भारतीय सरकारको सहयोगमा नवनिर्मित छात्रावास भवन उद्घाटन गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा छात्रावास भवनको उद्घाटन गरेका हुन्।
उक्त छात्रावास भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो। लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको यस परियोजनाले विद्यालयको शैक्षिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए। नवनिर्मित छात्रावासले लोमन्थाङका विद्यार्थी तथा शिक्षकहरूका लागि थप सहज र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातवटै प्रदेश समेट्ने गरी ६०५ वटा परियोजना अघि बढाइएको भारतीय राजदूतावासले जनाएको छ। तीमध्ये गण्डकी प्रदेशमा ६४ वटा परियोजना सञ्चालनमा रहेका छन् भने मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना समावेश छन्। यसका अतिरिक्त भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। तीमध्ये मुस्ताङ जिल्लाले ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्राप्त गरेको छ। भारत र नेपालबीच छिमेकी मुलुकका रूपमा रहँदै आएको बहुआयामिक सहकार्यअन्तर्गत यस्ता विकास परियोजनाहरू सञ्चालन हुँदै आएका छन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपालको प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार तथा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको भारतीय राजदूतावासले जनाएको छ।



























