काठमाडौं–सरकारले काठमाडौं उपत्यका भित्रका एनालग केबल टेलिभिजन सेवा बन्द गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाभित्रका केबल टेलिभजिन सेवा अब पूर्णरुपमा डिजिटलमा मात्र संचालन गर्ने निर्णय गर्दै बुधवारदेखि एनालग सिस्टमको केबल टिभी सेवा बन्द भएको घोषणा गरेको हो । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उपत्यका भित्रका केवल टिभी सेवा पूर्णरुपमा डिजिटल प्रविधिमा मात्र संचालन गर्नुपर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मन्त्रालयको चारवटा टोलीले आज काठमाडौं उपत्यका भित्रका केबल टिभी सेवा प्रदायक कम्पनीहरुको अनुगमन निरिक्षण गरेर दिएको प्रतिवेदनको आधारमा एनालग केवल टिभी बन्द गरेको हो । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले आजदेखि उपत्यका भित्रका सम्पूर्ण क्षेत्रहरुमा डिजिटल केबल टिभी सेवा मात्र संचालन हुने स्रोतलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘आजदेखि काठमाडौं उपत्यकाका सबै केबल टिभीको एनालग रिसिभर नै स्वीच अफ गर्यौं, अब उपत्यका बाहिरका शहरहरुमा निरिक्षणका लागि जान्छौं,’ मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताएका छन् । उनले उपत्यकाभित्र कतै कसैले लुकिछिपि एनालग केबल टिभी सेवा संचालन गरेको भेटिएमा मन्त्रालयले कारबाही गर्ने समेत बताए ।

सचिव अधिकारीकाअनुसार असार मसान्तसम्म डिजिटाइजेसको म्याद रहेको हुँदा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा पनि क्रमशः डिजिटाइजेसन हुनेछ । मन्त्रालयको अनुगमन टोलीले उपत्यका भित्रका १६ वटा केवल टिभी सेवा संचालन गरिरहेका कम्पनीहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ४ वटा कम्पनीहरुले डिजिटल प्रविधिबाट मात्र केवल टिभी सेवा दिईरहेको पाईएको र केहि कम्पनीहरुले ब्याकअपको रुपमा मात्र एनालग टिभी सिग्नल राखेको भेटिएको मन्त्रालयका डिभिजनल इलेक्ट्रोनिक इन्जिनियर अनुप नेपालले जानकारी दिए ।

उपत्यकाभित्र सुबिसु केबल, सिम टिभी, स्काई केबल र मेरो टिभीले पूर्णरुपमा डिजिटल प्रविधिमा मात्र केबल टिभी सेवा संचालन गरिरहेको उनले बताए । ‘मन्त्रालयको चार वटा टोलीले उपत्यकाका सबै केबल टिभी सेवा प्रदायकको अनुगमन तथा निरिक्षण गरेको थियो र केहि फाट्टफुट्ट च्यानल बाहेक सबै डिजिटलमा गएको पायौं,’ उनले भने ।

मन्त्रालयका डिभिजनल इलेक्ट्रोनिक इन्जिनियर नेपालका अनुसार काठमाडौं उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुरका सबैजसो महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकासहितका सबै स्थानमा अब डिजिटल प्रविधिमा आधारित केबल टिभी सेवा मात्र संचालन हुनेछ ।

मन्त्रालयले काठमाडौं उपत्यकापछि बिराटनगर, पोखरा, बिरगंज, भरतपुर,बुटवल लगायतका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालगायतका शहरी क्षेत्रहरुमा क्रमशः केबल टिभी सेवालाई डिजिटाइजेसन गर्ने तयारी गरेको छ । ग्रामिण क्षेत्रहरुमा भने केहि समयको लागि एनालग केबल टिभी सेवा प्रशारण गर्न दिने र त्यसलाई पनि क्रमशः डिजिटाइजेशनमा लागे मन्त्रालयको योजना छ । ग्रामिण भेगमा डिजिटाइसेजनको लागि अनुदान दिने वा अन्य कुनै उपायबाट डिजिटाइजेसन गर्ने भन्ने बारेमा भने अझै कुनै ठोस निर्णय मन्त्रालयले गर्न सकेको छैन् ।

यसअघि पनि मन्त्रालयले पटक पटक केबल सेवालाई डिजिटाइजेसन गर्ने निर्णय गरेपनि सफल हुन सकेको थिएन् । केबल सेवा प्रदायक कम्पनीहरुले एकै पटक डिजिटाइजेसन गर्न नसक्ने भन्दै विरोध जनाएपछि सरकारले चरणबद्धरुपमा डिजिटाइजेसन गर्ने निर्णय गरेको थियो ।