किरण भट्टराई, काठमाडौँ– मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन्।


ADVERTISEMENT


उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्षणको रुपमा प्लान्टमा ल्याई खानेपानीको रुपमा वितरण सुरु गरिने जानकारी दिए । त्यसरी पठाइएको वाग्मतीको पानी पूर्णरुपमा खानयोग्य हुने उनको भनाइ छ । उनले भने– सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला तर केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ ।


ADVERTISEMENT

# # #


मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत आउने पानी सुचारु भएपछि वाग्मतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ । हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिच्छ्याउने काम सकिएको आयोजनाले जनाएको छ । श्रेष्ठले भने– चन्द्र शमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ ।

पहिलो चरणमा असोजको दोस्रो हप्ताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत पहिलो चरणअन्तर्गत सुरुमा आठ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउने छन् । परियोजनाअन्तर्गत तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा याङ्री र लार्के नदीको समेत पानी ल्याएर दैनिक ५१ लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ ।

             मलेम्ची खानेपानी योजनाअन्तर्गत काठमाडौँको सुन्दरीजलमा निर्माणाधीन ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ । तस्बिर : रासस

परियोजनाअन्तर्गत रु साढे तीन अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का लागि छुट्टाइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग (जाइका)को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ । जाइकाले ४० वर्षका लागि शून्य दशमलव एक प्रतिशत ब्याजमा सो ऋण प्रदान गरेको जाइका नेपालका प्रतिनिधि नानाको त्सुकाहाराले जानकारी दिए । हाल एनजिएस कन्सल्टेन्ट कम्पनी लिमिटेडले प्लान्टको काम गरिरहेको छ । विसं २०७० पुसदेखि प्लान्टको कामको लागि सम्झौता भएको थियो ।

विसं २०७२ चैतभित्र प्लान्टको काम सक्ने लक्ष्य लिइएकोमा भूकम्प, भारतीय नाकाबन्दी, विभिन्न समयमा भएको आन्दोलन, स्थानीयको असहयोगजस्ता कारणले आयोजनाको काममा ढिलाइ भएको हो । प्लान्ट सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गरी तीन महिनासम्म निर्माण कम्पनीले बोर्डका कर्मचारीलाई सञ्चालनसम्बन्धी तालिम दिइने छ । सुन्दरीजलमा ५०० रोपनी क्षेत्रफल प्लान्टको लागि जग्गा लिइएको छ ।

मेलम्ची खानेपानी वितरण गर्न १० ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की निर्माण गरिँदै छ । आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्याङ्की निर्माण हुँदैछ ।रासस