काठमाडौं–पर्यटनमन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एक मिनेट पनि ढिला नहुने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहयोग समितिको ११ औं तथा अन्तिम बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै मन्त्री अधिकारीले जस्तोसुकै समस्या आएपनि निर्माण कार्य नरोकिने बताए ।


ADVERTISEMENT


केन्द्रका कारण विमानस्थल निर्माणमा एक वर्ष ढिलाई भएको बताउँदै उनले भने, ‘स्थानीयका कारण विमानस्थल निर्माणमा ढिलाई भएको होइन, केन्द्रको कारण ढिलाई भएको हो । अब जस्तोसुकै समस्या वा कठिनाईका बाबजुद एयरपोर्ट बन्छ, अब एक मिनेट पनि ढिलो हुने छैन ।’


ADVERTISEMENT

# # #


समितिका संयोजक समेत रहेका मन्त्री अधिकारीले २०२१ जुलाई १० तारिखभित्र विमानस्थल बन्नु पर्ने बताए । उनले भने, ‘तोकिएको मितिमा एयरपोर्ट बनाउने कुरामा कसैसँग सम्झौता गर्न सकिन्न, यो काम सक्ने सबैको जिम्मेवारी हो, सबै मिलेर सम्पन्न गरौं ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल योजनाका हिसाबले देशकै १ नम्बर मोडल भएको बताउँदै उनले सानासाना समस्या आइरहँदा सर्वसाधारणमा विमानस्थल बन्दैन कि भन्ने आशंका उब्जिएको बताए । उनले भने, ‘मूख्य समस्याहरु सबै समाधान भएका छन्, अब साना साना समस्या मात्र बाँकी छन्।’

उनले विमानस्थलको एयर रुट चाँडै टुंगिने बताए । पोखरा विमानस्थलको धावन मार्ग २ हजार ५०० बाट ३ हजार मिटर पुर्‍याउन सकिने र त्यसका लागि पैसाको अभाव नहुने बताए । विमानस्थलको आयोजना प्रमुख बिनेश मुनकर्मीले ७ प्रतिशत काम सक्दापनि निर्माणकर्ता सीएएमसी कम्पनीलाई पैसा दिन नसकिएको बताए ।

उनले अबको २ हप्ताभित्र सम्पन्न कामको पैसा दिइने बताए । तर, धावन मार्गको लम्बाई बढाउनु र नबढाउनुमा कुनै फरक नरहने भन्दै उनले ठूला जहाज पोखरा विमानस्थलमा कुनैपनि हालतमा उडान र अवतरण गर्न नसकिने पटकरपटकको रिपोर्टमा देखिएको प्रष्ट पारे । उनले पोखराको भौगोलिक धरातलका कारण वाईड बडी जहाज ल्याउन नसकिने र रात्रीकालीन उडान पनि गर्न नसकिने बताए ।

राष्ट्रिय आयोजनाका निर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माणमा शंका नगर्न आग्रह गर्दै विमानस्थल निर्माणमा ढिलाई हुनुको कारण चिनियाँ पक्षको लामो प्रक्रिया पनि भएको बताए । बैठकमा सहभागीहरुले ईञ्जिनियरिङ परामर्श दाता राख्ने निर्णयले विमानस्थल निर्माणमा आशंका उब्जाएको बताए । परामर्श दाताले अहिले निर्माण भएका संरचना योग्य नभएको बताए त्यसले विमानस्थल निर्माणमा बाधा उत्पन्न गर्ने त हैन ? भन्ने प्रश्न उब्जाएको उनीहरुको भनाइ थियो ।

जवाफमा मन्त्री अधिकारीले परामर्शदाता राख्दैमा विमानस्थल निर्माणमा असर नपर्ने बरु सरल बनाउने बताए । आयोजना प्रमुख बिनेश मुनकर्मीले जग्गा अधिग्रहण गर्ने क्रममा स्थानीयसँग गरिएको प्रतिबद्धता पूरा गर्ने बताए ।