काठमाडौं – अब गाडीमा गीत बजाएको पनि पैसा तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रमा विभागले जारी गरेको १० बुँदे कार्यविधिमा यस्तो उल्लेख गरिएको छ ।


ADVERTISEMENT


पत्रकार सम्मेलनमा महानिर्देशक रुपनारायण भट्टराईले अब सवारी साधनमा गीत बजाएको पनि अनिवार्य रोयल्टी बुझाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


गीत नै नबजाउने सवारी साधनले पनि रोयल्टी तिर्नुपर्ने ?, रोयल्टी बुझाएपछि चालकललाई बजाउन मन लागेको गीत विभागले नै उपलब्ध गराउँछ कि गराउँदैन ?, कतिवटा गीत बजाएको दैनिक, मासिक, वार्षिक कति रोयल्टी कति तिर्नुपर्छ ? यी विभिन्न प्रश्न भने अहिले छलफलका क्रममा छन् ।

यता नेपाल सङ्गीत रोयल्टी सङ्कलन समाजले भने गीत, सङ्गीतकर्मीलाई गीत गाएरै बाँच्न सक्ने अवस्थामा पुर्याउन यसरी रोयल्टी सङ्कलन गर्ने बताएको छ ।

“अब सार्वजनिक सवारी साधनहरुमा अनिवार्य रुपमा सङ्गीत रोयल्टीको चुक्ता प्रमाणपत्रको व्यवस्था गरिएको छ,” विभागले आइतबार यातायात क्षेत्र सुधारका लागि जारी गरेको १० वटा कार्यविधिबारे महानिर्देशक भट्टराईले भने, “सङ्गीत रोयल्टीको चुक्ता प्रमाणपत्र नभएका सवारी साधनहरुको जाँच–पास हुँदैन, नियमनकारी निकायले जुनसुकै बेला जरिबाना गर्नसक्ने व्यवस्था गरिएको छ ।”

समाजका महासचिव सङ्गीतकार महेश खड्काले गीतकार र साङ्गीतिक क्षेत्रका अन्य सर्जकलाई साङ्गीतिक क्षेत्रबाटै बाँच्नसक्ने बनाउन यस कदमले सहयोग गर्ने बताए ।

“विकसित देशमा यस किसिमकै प्रयोग अवलम्बन भइरहेको छ,” खड्काले भने, “नेपालमा पनि यस्तो व्यवस्था गर्दा कलाकारहरु गाएरै बाँच्न सक्ने अवस्थामा पुग्न सक्छन् ।”

होला त सफल कार्यान्वयन ?

विभाग र समाजले यस्तो कार्यविधि ल्याइँरहदा सार्वजनिक सवारी चालकहरु भने यस्तो नियमसँग जानकार छैनन् । आवश्यक प्रचार–प्रसार र पूर्वतयारीबिना नै यस्तो नियम लागु गर्न खोजिएको चालकहरुको भनाइ छ ।

“कहाँ गएर गीत भर्ने रु यो व्यवस्था ऐच्छिक हो कि अनिवार्य केही थाहा छैन,” आइतबार नै मिनभवनमा भेटिएका एक टेम्पो चालकले बताए । आफ्नो कार्यालय अनामनगरमा रहेको र चालक वा सहचालकले त्यहीं आएर मेमोरी वा पेनड्राइभमा गीत भर्नसक्ने समाजको भनाइ छ ।

तर समाजको कार्यालय एक ठाउँबाट मात्रै गीत भर्न सम्भव नहुने र यसबारे सरकारी स्तरबाटै कार्ययोजना ल्याएर व्यवस्थित गरिनुपर्ने महासचिव खड्काले बताए ।

यस्तै प्रतिदिन कति गीत बजाए कति रुपैयाँ रोयल्टी तिर्ने ? र गाडीमा नेपालीबाहेक हिन्दी, अंग्रेजी र अन्य भाषाका गीत बजाउन पाइने कि नपाइने भन्ने यकिन नियम भने आउन सकेको छैन ।

यसका साथै साइबर, मोबाइल मर्मत केन्द्र, इलेक्ट्रोनिक्स पसललगायतका स्थानबाट गीत भर्न पाइने कि नपाइने भन्ने बारेमा चालक वा सवारी धनीहरु प्रष्ट छैनन् ।
महासचिव खड्काले भने, “हाम्रो यो सानो प्रयास हो, यसलाई व्यवस्थित र देशैभरि प्रभावकारी रुपमा लागु गर्न सरकार साथै सम्पूर्ण पक्षबाट राय, सल्लाह र सुझावको अपेक्षा गरेका छौं ।”

निजी सवारी साधनले भने गीत बजाएबापत रोयल्टी बुझाउनु नपर्ने समाजले जनाएको छ । “निजी सवारी साधनमा गीत बजाएको रोयल्टी तिर्नुपर्दैन तर सार्वजनिक यातायातमा गीत बजाएको अनिवार्य रोयल्टी बुझाउनुपर्छ,” खड्काले भने ।

सोही अवसरमा खड्काले नेपाली साङ्गीतिक क्षेत्रप्रति सरकार उदार र कलाकारमैत्री नभएको प्रतिक्रियासमेत व्यक्त गरे ।

कस्ता सवारीलाई कति रोयल्टी ?

ठूला, मझौला र तीनपाङ्ग्रे साधनमा छुट्टाछुट्टै दरले रोयल्टी उठाउने समाजको तयारी छ । समाजका अनुसार ठूला सवारीसाधनबाट वार्षिक २ हजार, मझौला सवारी साधनलाई वार्षिक १ हजार ४ सय र तीनपाङ्ग्रे सवारी साधनबाट वार्षिक ८ सय रुपैयाँ रोयल्टी उठाउने तयारी छ ।

देशैभरका सार्वजनिक सवारीबाट गीतको रोयल्टीबाट वार्षिक करिब २० करोड रुपैयाँ रोयल्टी सङ्कलन गरिने समाजको आँकलन छ ।