काठमाडौं– सरकारले भूकम्प पीडितलाई दिने अनुदानको दोस्रो किस्ता बापतको रकम लिने समय आगामी असार मसान्तसम्मलाई थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पुननिर्माण प्राधिकरणको बैठकले भुकम्प पीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थप गरेको हो ।


ADVERTISEMENT


प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय गरेको थियो । त्यस्तै प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुर्ननिमाण प्राधिकारणको बैठकले भुकम्पपीडितले अनुदानका लागि ब्यहोर्दै आएका विभिन्न झन्झटिला कामलाई सहज बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकले स्थानीय सरकार सञ्चालन ऐनमा यहि चैत २८ पछि कुनै पनि जिल्लामा प्राधिकरणको कार्यलय राख्न नपाउने व्यवस्थालाई पनि संशोधन गर्दै अनुदान व्यवस्थापन युनिट, शिक्षा र भवन इकाई सञ्चालन गर्न पाउने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले जानकारी दिए ।

उनले प्राधिकरणले नीजि आवास निर्माणमा प्राथमिकताका साथ काम गर्ने पनि बताए । ‘पुननिर्माणका लागि विभिन्न मन्त्रालयअन्र्तगत सहकार्य गर्नुपर्ने भएकाले त्यसका लागि प्राधिकरणले सहकार्य गर्दै नीजि आवासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय भएको छ’ प्रमुख कार्यकारी अधिकृत भुषालले बताए ।

भुकम्पबाट भत्किएकामध्ये अहिलेसम्म १ लाख १४ हजार नीजि घर बनिकसेको प्राधिकरणले जनाएको छ ।

सरकारले भुकम्प पीडितलाई तीन चरणमा अनुदान उपलव्ध गराउदै आएको छ । त्यसमध्ये घरको जग हाल्न पहिलो किस्ताबापत ५० हजार, जगहालिसकेपछि गारो लगाउन डेढ लाख र घर सकिएपछि एकलाख गरी तीन लाख अनुदान उपलव्ध गराउने गरेको छ ।