काठमाडौं–एमाले–माओवादीले वैशाख ९ मा औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो ।


ADVERTISEMENT


दुवै कार्यदलले मंगलबार एकता संयोजन समितिका संयोजकद्वय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन पारेर ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने गरी सुझावसहितको प्रतिवेदन बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


तर, संयोजन समितिले औपचारिक निर्णय भने लिइसकेको छैन । २२ चैतमा बस्ने एकता संयोजन समितिको बैठकले यसबारे औपचारिक निर्णय लिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

‘अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित दुवै कार्यदलले २२ अप्रिलमा पार्टी एकता गरौं भन्ने सुझावसहितको अआफ्नो प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएका छौं’, माओवादी नेत्री भुसालले स्रोतसँग भनिन्, ‘दुवै अध्यक्षले प्रतिवेदन ग्रहण गर्दै प्रस्तावित मितिबारे सकारात्मक जवाफ दिनुभएको छ । अब बिहीबार बस्ने संयोजन समितिको बैठकले पार्टी एकताको मितिलगायतको निर्णय लिने ।’

२२ अप्रिल अर्थात् ९ वैशाख नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन हो । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा यो बीचमा टुटफुटको शृंखला नै चलेको थियो । एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको नामसमेत नेपाल कम्युनिस्ट पार्टी नै बनाउने औपचारिक सहमति गरिसकेका यी दुई पार्टीले पार्टी स्थापनाको ६९ वर्षकै दिन पारेर एकताको औपचारिक घोषणा गर्दा त्यसको सन्देश राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै सकारात्मक जाने भन्दै कार्यदलले मिति प्रस्ताव गरेको हो ।

‘दुवै कार्यदलले प्रतिवेदन बुझाउँदा ९ वैशाखमा पार्टी एकता गर्न प्रस्ताव गरेका छौं । दुवै अध्यक्षले प्रस्तावित मितिलाई पनि हामी ग्रहण गर्छौं भनेर सकारात्मक जवाफ दिनुभएको छ । सकेसम्म सोही दिन एकता गर्ने गरी अगाडि बढ्ने कुरा भएको छ’, एमाले नेता वेदुराम भुसालले भने ।

प्रधानमन्त्री ओली २३ चैतअघि नै पार्टी एकता गरी भारत भ्रमणमा जाने तयारीमा थिए । कार्यदलको ढिलाइका कारण ओलीको चाहना पूरा हुन सकेन । तैपनि उनी भारत जानुअघि पार्टी एकताको औपचारिक घोषणा मिति तय गरी जाने तयारीमा छन् । त्यसैका लागि ओलीले आफ्नो भारत भ्रमणको अघिल्लो दिन २२ चैतमा संयोजन समतिकिो बैठक बोलाएका छन् । २२ चैतमा संयोजन समितिको बैठक बसे मिति घोषणा हुने वेदुरामले जानकारी दिए ।

‘संयोजन समितिमा रहेका नेताले दुवै कार्यदलका प्रतिवेदनलाई बुधबार दिनभर अध्ययन गरी साँझसम्म सुझाव दिने र २२ गते संयोजन समितिको बैठक बसेर फाइनल गर्ने भन्ने छ’, उनले भने ।

भुसालले स्रोतसँग भने, ‘प्रधानमन्त्री भारत भ्रमणको तयारीमा लाग्ने हुँदा उक्त दिन उहाँले भ्याउने–नभ्याउने भन्ने पनि छ । उहाँले भ्याउनुभयो भने मिति घोषणा हुन्छ ।’ कार्यदलले बुझाएको प्रतिवेदनमा अझै पनि पार्टी एकताका लागि केही महत्ववपूर्ण विषयमा सहमति जुट्न सकको छैन।

एकीकृत पार्टी संगठनका कमिटीमा दुई पक्षका कति संख्याका नेता समेटिने भन्ने विषय एकता संयोजन समिति बैठकले छलफल गरी टुंगो लगाउनै बाँकी छ। त्यस्तै, पार्टी विधानमा ‘जनयुद्ध’ शब्द राख्ने÷नराख्ने र चुनाव चिह्नका विषय टुंगो लगाउनै बाँकी छ।

राजनीतिक प्रतिवेदन समतिमिा विवादका विषय नभए पनि अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्य दलमा भने यी विषय विवादकै क्रममा छ । अब एउटा कार्यदलले तयार पारेको प्रतिवेदनलाई अर्को कार्यदलका सदस्यले समेत बुधबार दिनभर अध्ययन गरी साँझसम्म सुझाव दिन भनिएको छ । ‘राजनीतिक प्रतिवेदनमा कुनै विवाद छैन ।

तर, संगठनमा भने अझै केही विषय छलफलकै क्रममा छ । चुनाव चिह्न र जनयुद्ध भन्ने विषय कार्यदलमा छलफल भएर पनि विवादमै छ’, भुसालले भने, ‘त्यस्तै दुई पार्टीबाट कति संख्यामा नेताहरू राख्ने भन्ने विषयमा कार्यदलले छलफल नगरी सीधै संयोजन समितिलाई नै टुंग्याउन छाडिएको छ। त्यो विषय पनि मिल्न बाँकी छ ।’

एकतापछि बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने, २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, आठ तहको पार्टी संरचना निर्माण गर्ने, पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवादलाई बनाउने यी दुई पार्टीबीच लिखित समझदारी बनिसकेको छ । – आजको अन्नपूर्ण पोष्टबाट