धनगढी — धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले हराएको हो ।


ADVERTISEMENT


टस हारेर व्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। १८२ रनको विशाल विजय लक्ष्य पछ्याएर व्याटिङको लागि आएको रुपन्देही च्यालेन्जर्स २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो।


ADVERTISEMENT

# # #


रुपन्देहीका प्रदीप ऐरीले ५० बलमा ५४ रन बनाए भने दीपक प्रसादले १७ बल खेल्दै २२ रन बनाए। सुशन भारीले २१ रन तथा कप्तान शक्ति गौचनले १४ रन बनाए। रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा विराटनगर किंग्सका सुभम कामतले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिए भने ३ विकेट लिए।

रामनरेश गिरीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए। रुपन्देही च्यालेन्जर्सले टस जितेपछि व्याटिङमा निम्त्याइएको विराटनगरबाट ओपनरद्वय अनील कुमार साहले ३६ र दीलिप नाथले ४३ रन बनाए।

बाबर हायतले ३५ बल खेली ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रन बनाए। कप्तान पारस खड्का २२ रनमा आउट भए। सौरभ खनाल १७ रनमा अविजित रहे।

रुपन्देहीबाट सुफियान महमुदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले ११ विकेट लिए। यसअघि भएका खेलमा विराटनगर किंग्सले महेन्द्रनगरसँग हार व्यहोरेको छ भने रुपन्देहीले दुई खेलमा दुवै खेल पराजित हुन पुगेको छ।

खेलको म्यान अफ द म्याच विराटनगरका बाबर ह्यात चुनिए ।