काठमाडौं–रुट परमिट लिएका सार्वजनिक यातायात बस व्यवसायीले यात्रुलाई असुविधा पुग्ने गरी अवरोध गरे समिति नै खारेज गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले चेतावनी दिएका छन् ।


ADVERTISEMENT


पोखरेलले रुट परमिट लिने, तर यात्रुलाई असुविधा पुग्ने गरी बन्द–हडताल गर्ने बस व्यवसायीका समिति निगरानीमा रहेको बताए । उनले भने, ‘केही दिनयता भक्तपुरमा चल्ने बस व्यवसायीले सिन्डिकेट लाद्न खोजेका छन् ।


ADVERTISEMENT

# # #


यात्रुलाई असुविधा पुग्ने गरी भएका उनीहरूको गतिविधिलाई जिल्ला प्रशासन कार्यालयले नियालिरहेको छ । केही दिन हेर्छौँ । गतिविधि जारी रहे उनीहरूको समिति खारेज हुन्छ । रुट परमिट खारेज गर्न यातायात व्यवस्था कार्यलाई सिफारिस हुन्छ ।’

भक्तपुर जिल्ला प्रशासनका अनुसार बुधबार पनि भक्तपुरमा चल्ने १२ बस व्यवसायीले बन्द गरेका छन् । उनीहरूले रुट परमिट लिएका अन्य बसलाई चल्न दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘चलेका बसलाई प्रशासन सुरक्षा दिन तयार छ । दिइरहेको पनि छ । जसले अवरोध गरिरहेको छ, उनीहरूलाई अब नियन्त्रणमा लिइन्छ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि रुट परमिट लिने, तर यात्रुलाई असुविधा पुग्ने गरी अवरोध गर्न खोज्ने बस व्यवसायीलाई कारबाही गरिने जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले अहिलेसम्म काठमाडौंमा चल्ने बसले अवरोध नगरेका, तर अवरोधमा उत्रिए प्रशासन हेरेर नबस्ने बताए ।

उनले भने, ‘काठमाडौंमा अहिलेसम्म अवरोध छैन । केही दिनअघि जडीबुटीआसपासका क्षेत्रमा अवरोध गर्न खोजेका थिए । तुरुन्तै हामीले कारबाही गर्यौ । अब पनि त्यस्तै हुन्छ । जबर्जस्ती भए उनीहरूको रुट परमिट मात्र होइन, समिति नै खारेज हुन्छ ।’ – आजको नयाँ पत्रिकाबाट